अस्थिरता चाहने तीनथरी शक्तिको नेपालमा भविष्य छैन-उपप्रधानमन्त्री पौडेल
काठमाडौँ । उपप्रधान तथा अर्थमन्त्री एवं नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेलले मुलुकलाई अस्थिरतातर्फ धकेल्न खोज्ने तीनथरी शक्तिको नेपालमा कुनै भविष्य नभएको बताएका छन् ।
नेपाल पत्रकार महासंघ पाल्पाले आज तानसेनमा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले प्रतिगामी शक्ति, खहरेझैँ उदाएका रास्वपा र सरकार ढाल्ने खेलमा रमाउने माओवादीलाई अस्थिरता चाहने शक्ति भन्दै कठोर प्रहार गरे।
पौडेलका अनुसार, केही समयअघि राजावादी शक्तिले राजनीतिक अस्थिरता मच्चाउने प्रयास गरे पनि जनताले त्यसलाई पूर्णतः अस्वीकार गरिसकेका छन् ।
“प्रतिगामी शक्तिको रुपमा आएका कथित राजावादीको प्रयासलाई जनताले तिरस्कार गरिसकेका छन् । अहिले उनीहरु छिन्नभिन्न अवस्थामा छन्,” उनले भने, “गणतन्त्रवादीसँग जोरी खोज्नु भनेको कुइनोले पहरो ठेले जस्तै हो ।”
दोस्रो रूपमा उनले रास्वपालाई लक्षित गर्दै खहरेको संज्ञा दिए । मनसुनमा बढ्ने तर मनसुन सकिएपछि सुक्ने खोलासँग तुलना गर्दै उनले भने, “राजनीतिमा पनि यस्ता खहरे देखिएका छन् । उनीहरुको आयु लामो हुँदैन। विरोध र भ्रम सृजना गरेर जनता अल्मल्याउने प्रयास भइरहेको छ, तर जनताले नियत बुझिसकेका छन्।” युवाहरुलाई चेतावनी दिँदै उनले यस्तो ‘खहरे राजनीति’ को भेलमा नफस्न आग्रह गरे।
तेस्रो अस्थिरता चाहने शक्ति माओवादी भएको पौडेलको आरोप छ । उनका अनुसार, सधैं सरकार ढाल्ने धम्की दिने माओवादी अहिले मुर्झिएको अवस्थामा छ। “देशमा अस्थिरता चाहने अर्को शक्ति सधैँ सरकार ढाल्छु भन्छ तर प्रयास सफल नभएपछि अहिले सरकार हाम्रो प्राथमिकता होइन भन्नेमा पुगेका छन्,” उनले भने, “त्यसैले यो शक्तिको भ्रमबाट जनताले मुक्त हुनुपर्छ।”
वर्तमान संसदको गणितमा एमाले–कांग्रेसबीच मात्र स्थिर सरकार सम्भव रहेको उल्लेख गर्दै पौडेलले यही गठबन्धन सुरक्षित विकल्प भएको दोहोर्याए ।
“सबैभन्दा सुरक्षित स्थिर सरकार यिनै दुई दल मिल्दा मात्र सम्भव छ। यो सरकार २०८४ सम्म निरन्तर रहन्छ, कसैले भ्रममा पर्नु पर्दैन,” उनले स्पष्ट पारे ।
पौडेलले अस्थिरता मच्चाउने शक्तिहरुको योजनालाई जनता र राष्ट्रिय राजनीति दुवैले अस्वीकार गरिसकेको निष्कर्ष निकाल्दै, आगामी दिनमा स्थिरता र विकासतर्फ अग्रसर हुनुपर्नेमा जोड दिए ।








