प्रधानमन्त्री ओलीद्वारा हमासको बन्धक नेपाली युवा विपिन जोशीको शीघ्र रिहाइको पहलमा जोड
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हमास समूहले बन्धक बनाएका नेपाली युवा विपिन जोशीको शीघ्र रिहाइ सुनिश्चित गर्नु सरकारको प्रमुख जिम्मेवारी भएको बताएका छन् ।
प्रधानमन्त्री ओलीले सोमबार सामाजिक सञ्जाल फेसबुकमार्फत एक सन्देश जारी गर्दै सरकार विपिनको सुरक्षालाई उच्च प्राथमिकतामा राख्दै हरसम्भव पहल गरिरहेको स्पष्ट पारेका हुन् ।
उनका अनुसार परराष्ट्र मन्त्रालयले खाडी क्षेत्रका नेपाली दूतावासमार्फत निरन्तर संवाद गरिरहेको छ। साथै, इजरायलस्थित नेपाली दूतावासको समन्वयमा विपिनकी आमा पद्मा र बहिनी पुष्पाले इजरायलका राष्ट्रपति महामहिम आइज्याक हर्जोग र संसद अध्यक्ष अमिर ओहानासँग भेट गरी विपिनको शीघ्र रिहाइका लागि आग्रह गरिसकेका छन् ।
प्रधानमन्त्री ओलीले यसअघि विपिनको विषयलाई अन्तर्राष्ट्रिय तहमा पनि उठाएका छन् । उनले मध्यपूर्वको शान्तिका लागि पहल गरिरहेका टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग गत चैत ७ गते र इजिप्टका राष्ट्रपति अब्देल फत्ताह सइद हुसैन खालिलसँग गत फागुन २८ गते टेलिफोन संवाद गरी विपिनको रिहाइमा सहयोग गर्न अनुरोध गरेका थिए।
यसै सन्दर्भमा, प्रधानमन्त्री ओलीले इजरायलमा विपिनको रिहाइका लागि सहयोग गरिरहेका नेपाली समुदाय, स्थानीय नागरिक, पत्रकार, सुरक्षाकर्मी तथा सामाजिक अभियन्ताप्रति विशेष आभार व्यक्त गरेका छन् ।








