गुल्मीमा पहिरोले मदनभण्डारी राजमार्ग अवरुद्ध
गुल्मी । निरन्तर वर्षाका कारण गएको पहिरोले मदनभण्डारी राजमार्ग अन्तर्गत तम्घास–रिडी सडकखण्ड आज बिहानदेखि अवरुद्ध बनेको छ ।
जिल्लाको रेसुङ्गा नगरपालिका–१३ भँगारी खोलामा सडकमा ठूलो पहिरो खसेपछि सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जानकारी दिएको छ । सदरमुकाम तम्घास नजिकै पर्ने उक्त स्थानमा पहिरो खसेपछि आवागमन पूर्ण रूपमा ठप्प भएको छ ।
सडक खुलाउने उद्देश्यले नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन भइसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका सूचना अधिकारी गङ्गाबहादुर सारुले बताए ।
त्यस्तै, सडकमा थुप्रिएको पहिरो हटाउनका लागि आवश्यक उपकरण पठाइसकिएको रेसुङ्गा नगरपालिकाका प्रमुख खिलध्वज पन्थीले जानकारी दिए ।
सडक अवरुद्ध भएपछि सदरमुकाम तम्घासबाट बाहिरिने र त्यहाँ भित्रिने सवारीसाधनहरु बाटैमै रोकिएका छन् । अहिले पहिरो पन्छाएर सडक सुचारु गर्ने प्रयास भइरहेको प्रहरीले जनाएको छ ।








