घोराही उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष शाह पदमुक्त
प्रकाशित मिति : 18 August, 2025 9:53 am
दाङ । घोराही उपमहानगरपालिका वडा नम्बर ८ का अध्यक्ष जितेन्द्रबहादुर शाह पदमुक्त भएका छन् । आज बसेको उपमहानगरपालिकाको कार्यपालिका बैठकले अध्यक्ष शाहकाे राजीनामा स्वीकृत गरेसँगै उनी पदमुक्त भएका हुन् ।
शाह २०७९ वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा नेकपा (एमाले) को तर्फबाट अध्यक्षमा विजयी भएका थिए तर जनताको काम गर्न नसकेको भन्दै उनले केही महिना अघि नै नगरप्रमुख नरुलाल चौधरी समक्ष राजीनामा बुझाएका थिए ।
शाहको स्थानमा वडा सदस्य चुडामणि चौधरीलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको नगरप्रमुख चौधरीले जानकारी दिए ।
यसअघि शाहले विज्ञप्तिमार्फत् आफू नेकपा (एमाले) मा नरहेको स्पष्ट गर्दै आएका थिए । पछिल्ला दिनमा भने उनी विभिन्न सामाजिक कार्यमा सक्रिय हुँदै आएका छन् ।








