राष्ट्रियसभाको बैठक दिउँसो १:१५ बजे बस्दै, सामाजिक सञ्जालसम्बन्धी विधेयक कार्यसूचीमा
काठमाडौँ । राष्ट्रियसभाको बैठक आज दिउँसो १:१५ बजे सङ्घीय संसद् भवन, नयाँ बानेश्वरमा बस्दैछ । आजको बैठकमा सहरी विकास मन्त्रालयसँग सम्बन्धित मौखिक प्रश्नको उत्तर सम्बन्धित मन्त्रीले दिने कार्यसूची तय भएको छ ।
बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जहरूसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी अध्ययन प्रतिवेदन, २०८२’ सभासमक्ष पेस गर्ने कार्यक्रम छ ।
त्यसैगरी, संचार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले ‘सामाजिक सञ्जालसम्बन्धी विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची पनि छ ।
सङ्घीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयका अनुसार, आज नै संसद्को अर्थसमिति र कानुन, न्याय तथा मानव अधिकार समितिको बैठक पनि बस्नेछ ।
अर्थसमितिको बैठकमा ‘वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक’ को मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।
त्यस्तै, कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा ‘नेपाल कानुन व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१’ को दफावार छलफल गर्ने कार्यसूची तय गरिएको छ ।








