रुपन्देही–३ को उपनिर्वाचनका लागि २६ दल दर्ता
काठमाडौँ । निर्वाचन आयोगले आगामी कात्तिक १७ गते हुने रुपन्देही क्षेत्र नं ३ को प्रतिनिधि सभा सदस्य उपनिर्वाचनका लागि २६ राजनीतिक दललाई दर्ता गरेको छ।
आयोगका सहसचिव एवं प्रवक्ता नीता पोखरेल अर्यालका अनुसार दल दर्ताका लागि २७ राजनीतिक दलले निवेदन दिएका थिए । तीमध्ये कानुनी प्रक्रिया पूरा गरेका २६ दललाई आयोगको सोमबार बसेको बैठकले दर्ता गर्ने निर्णय गरेको हो ।
नेपालको संविधानको धारा २७१ र राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४८ बमोजिम दल दर्ता गरिएको आयोगले जनाएको छ ।
सबैभन्दा पहिले मङ्गोल नेशनल अर्गनाइजेशन दर्ता हुन आएको आयोगले जनाएको छ । दर्ता भएका अन्य दलमा राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालका लागि नेपाली पार्टी, जनमत पार्टी, राष्ट्रिय मुक्ति आन्दोलन नेपाल, जनता समाजवादी पार्टी, नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा, नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र), जनप्रजातान्त्रिक पार्टी नेपाल, नेपाल कम्युनिष्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) लगायत रहेका छन् ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टी माक्र्सवादी (पुष्पलाल), संयुक्त नागरिक पार्टी, नेकपा (एकीकृत समाजवादी), नेपाल समाजवादी पार्टी (नयाँ शक्ति), नेकपा (माले), राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाल, नेशनल रिपब्लिक नेपाल, राष्ट्रिय मातृभूमि पार्टी, नेपाली जनता दल पनि दर्ता भएका छन् ।
यसबाहेक राष्ट्रिय यथार्थवादी पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, नेपाल जनमुक्ति पार्टी, हाम्रो नेपाली पार्टी, बहुजन शक्ति पार्टी र खम्बुवान राष्ट्रिय मोर्चा समेत उपनिर्वाचनका लागि दर्ता भएका आयोगले जनाएको छ । आयोगले उपनिर्वाचन कार्यतालिका सार्वजनिक गर्दै उम्मेदवार मनोनयन दर्ताको दिन आगामी असोज २१ गते तय गरेको छ ।








