२१ मंसिर २०८२, आइतबार

सम्पत्ति अधिकार संरक्षणमा हुलाक टिकटको भूमिका महत्वपूर्ण-मन्त्री गुरुङ

प्रकाशित मिति :  19 August, 2025 2:24 pm


काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सम्पत्ति अधिकारको रक्षा तथा लोपोन्मुख सम्पदा संरक्षणमा हुलाक टिकटको भूमिका महत्वपूर्ण हुने बताएका छन् ।

मंगलवार सरदार भीमबहादुर पाँडेको तस्बिर अंकित हुलाक टिकटमा टाँचा प्रदान गर्ने कार्यक्रममा उनले देशमा लोप हुँदै गएका रैथाने बालीनाली, वनस्पति, जनावर तथा पशुपंक्षीहरूको संरक्षणका लागि हुलाक टिकट प्रकाशन गरिने जानकारी दिए ।

मन्त्री गुरुङले नेपालको रैथानी बाली बासमती धानको प्याटन राइट्स भारतले लिएको उदाहरण दिंदै नेपालले त्यसबाट लाभ उठाउन नसकेको उल्लेख गरे ।

“बासमती धान नेपालको मौलिक सम्पत्ति भए पनि यसको आर्थिक लाभ अहिले भारतले उठाइरहेको छ,” उनले भने, “यस्ता मौलिक सम्पदामा अन्तर्राष्ट्रिय जगतमा अधिकार दाबी गर्न हुलाक टिकट प्रकाशनले योगदान पुर्‍याउँछ ।”

उनले अब लोप हुन लागेका वस्तुहरूको नाममा पनि सरकारले हुलाक टिकट छाप्ने बताए । साथै, देश र जनताको पक्षमा विभिन्न कूटनीतिक, लडाइँ र प्रशासनिक मोर्चामा योगदान गर्ने व्यक्तिहरुको नाममा समेत हुलाक टिकट प्रकाशन गरिने जानकारी दिए । “हाम्रा पूर्खाले भूमी जोगाउन लडाइँ गरेका हुन्, तर आजसम्म पनि त्यस भूमीलाई पूर्ण रूपमा पाउन सकेका छैनौं,” उनले भने ।

कार्यक्रममा सरकारले देशभक्त सरदार भीमबहादुर पाँडेको योगदानको कदर स्वरूप उनको तस्बिर अंकित हुलाक टिकट प्रकाशन गरेको घोषणा गरियो । सञ्चार मन्त्रालयको २०८१ चैत्र १७ गतेको निर्णयअनुसार हुलाक सेवा विभागले १० रुपैयाँ दरको टिकट सार्वजनिक गरेको हो ।

सरदार भीमबहादुर पाँडे एक कुशल प्रशासक, अर्थशास्त्री तथा लेखक समेत रहेकाले उनको योगदानलाई स्मरण गर्दै हुलाक टिकटमार्फत ऐतिहासिक कदर गरिएको मन्त्री गुरुङको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !