२१ मंसिर २०८२, आइतबार

प्रविधिमा नेपाल छिट्टै फड्को मार्नेछ-प्रधानमन्त्री ओली

प्रकाशित मिति :  19 August, 2025 2:29 pm


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रविधिको क्षेत्रमा नेपालले छिट्टै महत्वपूर्ण फड्को मार्ने विश्वास व्यक्त गरेका छन् ।राजधानीमा आयोजित ‘नाडा अटो सो २०२५’ को उद्घाटन समारोहलाई सम्बोधन गर्दै उनले प्रदर्शनीमा देखाइएको रोबोटलाई प्रारम्भिक चरणको संकेत भन्दै आगामी दिनमा यसले ठूलो विकास गर्ने बताए ।

“अहिले विद्यार्थीहरूले रोबोट र रकेट निर्माणमा हात हाल्न थालेका छन्, प्रविधि तीव्र गतिमा अघि बढिरहेको छ, नेपालले पनि त्यसलाई आत्मसात् गर्दै अघि बढ्नुपर्छ,” प्रधानमन्त्री ओलीले भने ।

उनले उड्ने कार अहिले उड्न नसके पनि निकट भविष्यमा नेपालमै त्यस्ता कार निर्माण गरेर निर्यात गर्न सक्ने सम्भावना रहेको उल्लेख गरे । अटोमोबाइल क्षेत्रमा देखिएको प्रगति र उपलब्धिप्रति खुशी व्यक्त गर्दै उनले नाडाका अध्यक्षलाई युवाशक्ति भएको भन्दै प्रशंसा गरे ।

व्यवसायीहरू असन्तुष्ट हुने कुनै कारण नरहेको बताउँदै प्रधानमन्त्री ओलीले कर तथा मौद्रिक नीतिमा सरकारले स्थिर नीति लिएको जानकारी दिए । “यसले अग्रगमनको यात्रामा सहजता ल्याउनेछ, जसबाट किसान, मजदुर र भूमिहीन जनतालाई समेत सहयोग पुग्नेछ,” उनले दाबी गरे ।

पूर्वाधार विकासलाई सरकार अत्यन्तै गम्भीर रूपमा अगाडि बढाइरहेको बताउँदै उनले पूर्व–पश्चिम राजमार्ग र हुलाकी राजमार्गको निर्माण तीव्र गतिमा भइरहेको जानकारी दिए ।

अटोमोबाइल सञ्चालनका लागि बाटोघाटोको समस्या नरहेको भन्दै उनले अब सिंगल लेन नभई डबल लेन सडक निर्माणमा सरकार जोड दिइरहेको उल्लेख गरे ।

त्यस अवसरमा उनले अटोमोबाइल क्षेत्रमा विद्युतिय सवारीसाधन (ईभी) तर्फ अघि बढ्ने र हरित उर्जा उत्पादनलाई प्राथमिकता दिने सरकारको नीति स्मरण गराउँदै नेपालको प्राविधिक क्षमताले भविष्यमा विश्वलाई चकित पार्ने विश्वास व्यक्त गरे ।



प्रतिक्रिया दिनुहोस !