सूचनाको हकसहित सबै मौलिक हकको कार्यान्वयन सरकारको लक्ष हाे-प्रधानमन्त्री ओली
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले सूचनाको हकसहित सबै मौलिक हकहरुको कार्यान्वयन गर्दै परिपूर्ण लोकतन्त्र स्थापनाका लागि सरकार प्रयासरत रहेको बताएका छन् ।
राष्ट्रिय सूचना आयोगले मंगलबार काठमाडौँमा आयोजना गरेको १९औँ राष्ट्रिय सूचना दिवसको समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले नागरिकले आवश्यक सूचना पाउने हक सुनिश्चित गर्नुपर्छ भन्नेमा सरकार स्पष्ट रहेको बताए । तर उनले हरेक विषयमा सूचना माग्ने अभ्यास उचित नहुने टिप्पणी पनि गरे ।
“हामीले लामो संघर्ष गरेर लोकतन्त्र ल्याएका हौं । स्वतन्त्रता र सूचनाको हकका लागि म आफैं जेलनेल लडेर आएको व्यक्ति हुँ,” प्रधानमन्त्री ओलीले भने, “संविधानले मौलिक हकहरुको व्यवस्था गरेको छ, त्यसको कार्यान्वयन अनिवार्य हुन्छ । तर व्यक्तिको गोपनीयता वा अनुसन्धानका क्रममा रहेका संवेदनशील विषय खुलाउनुपर्छ भन्ने सोच गलत हो । समाजमा कतिपय कुरा गोप्य रहनैपर्छ ।”
प्रधानमन्त्री ओलीले सरकार र सूचना आयोगबीच कुनै अधिकारको संघर्ष नरहेको स्पष्ट पारे । उनले मौलिक हक कार्यान्वयनका क्रममा देखा परेका समस्यालाई व्यवस्थापन गर्दै अघि बढ्नुपर्नेमा जोड दिए ।
त्यस्तै उनले सामाजिक सञ्जाललाई दर्ता र करको दायरामा ल्याउने तथा समाजलाई व्यवस्थित गर्ने विषयमा सरकार गम्भीर रहेको पनि बताए । कार्यक्रममा सूचनाको हकका अभियन्ता, उत्कृष्ट सूचना अधिकारी, पत्रकार र कर्मचारीलाई पुरस्कृत गरिएको थियो ।








