२१ मंसिर २०८२, आइतबार

पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलको ऋण एक दशकभित्र तिर्ने क्यानको योजना

प्रकाशित मिति :  20 August, 2025 1:19 pm


काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले आगामी एक दशकभित्रै पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलका लागि लिइएको ऋण तिर्ने योजना बनाएको छ ।

क्यानका महानिर्देशक इन्जिनियर प्रदीप अधिकारीका अनुसार दुबै विमानस्थलको ऋण तिर्न प्राधिकरण सक्षम रहेको छ । उनका अनुसार पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि लिइएको १३ अर्ब ऋणमध्ये दुई किस्ता भुक्तानी भइसकेको छ भने बाँकी रकम पनि समयमा तिरिँदै जानेछ ।

पोखरा विमानस्थलको आम्दानी मात्रले ऋण तिर्न कठिन भए पनि देशभरका अन्य विमानस्थलहरूको आम्दानी एकीकृत गरेर क्यानले भुक्तानी गर्ने योजना बनाएको उनले बताए ।

अधिकारीले भने, “कुनै विमानस्थलले कमाउने र उसैले खाने भन्ने हुँदैन, सबै विमानस्थलको अड्डा क्यान भएकाले त्यसैको आम्दानीबाट ऋण तिर्ने योजना छ ।”

उनका अनुसार समग्र अर्थतन्त्र सुस्त भएपछि पोखरा विमानस्थलमा तत्काल अपेक्षित आम्दानी नभए पनि भौतिक संरचना भव्य बनेकाले आगामी दिनमा यसको उपयोग बढ्दै जाने र आयसमेत बढ्ने अपेक्षा गरिएको छ ।

भैरहवाको परियोजना भने अपेक्षाकृत सानो रहेको अधिकारीले जनाए । करिब ६ अर्ब लागतमा बनेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा विमानस्थल दुवैको ऋण एक दशकभित्रै तिर्ने योजना रहेको उनको भनाइ छ ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा हाल वार्षिक ११ लाख यात्रु आवागमन गरिरहेका छन् । यसअघि करिब ४ लाख यात्रु मात्र प्रयोग गर्ने विमानस्थल अब बिहानदेखि रातिसम्म सञ्चालन हुने गरेको छ । विमानस्थल पूर्ण क्षमतामा जहाज उडाउन सक्ने अवस्थामा पुगेको अधिकारीले जानकारी दिए ।

भ्रष्टाचारको आरोपको खण्डन

सार्वजनिक लेखा समितिअन्तर्गत गठित उप–समितिले पोखरा विमानस्थल निर्माण प्रक्रियामा अनियमितता र भ्रष्टाचार भएको भन्दै प्रतिवेदन बुझाएको थियो ।

प्रतिवेदनमा लागत १५ अर्बबाट २२ अर्ब पुगेको, रनवे दबाएको, माटोको बिल हेरफेर गरेको, इन्धन डिपो नबनाएको र रिठ्ठेपानी डाँडा बढी काटेकोजस्ता आरोप लगाइएको छ । तर महानिर्देशक अधिकारीले ती सबै आरोप अस्वीकार गर्दै उप–समितिले तथ्य नबुझी कुण्ठा र पूर्वाग्रहका आधारमा प्रतिवेदन तयार पारेको आरोप लगाए । “१५ अर्बको आयोजना २२ अर्बमा पुग्यो भन्ने प्रमाण छैन, सरकार र चीन सरकारबीच भएको ऋण सम्झौताअनुसार नै काम सम्पन्न भएको हो,” उनले भने ।

उनका अनुसार चीनबाट आएको रकम पारदर्शी ढंगले प्राधिकरणकै खातामा खर्च भएको हो, व्यक्तिगत लाभका लागि भ्रष्टाचार भएको दाबी निराधार छ ।

आधुनिक पूर्वाधारसहितको विमानस्थल

अधिकारीले पोखरा विमानस्थलमा अत्याधुनिक पूर्वाधार निर्माण गरिएको उल्लेख गरे । युरोपेली ब्राण्डका फायर भेइकल, अमेरिकी ब्राण्डको दमकल, मर्मत सम्भारका लागि व्यवस्थित ह्याङ्गर, १४ वटा नयाँ भवन लगायत संरचना २२ अर्बको लगानीमा बनेका हुन् ।

पोखरा विमानस्थलमा बनेको ह्याङ्गरले न्यारोबडी जहाजहरूको मर्मत सम्भार नेपालमै गर्न सक्ने सुविधा दिएको उनले बताए । यसले विदेश जानुपर्ने बाध्यता घटाउने र आयस्रोत बढाउने सम्भावना रहेको उनको भनाइ छ ।

त्यस्तै, आयल निगमले नियमावली अनुसार जग्गा भाडामा लिएर ट्यांकी तथा अन्य संरचना निर्माण गरेको छ । भैरहवामा समेत यस्तै खालको पूर्वाधार निर्माण भएको उनले जानकारी दिए ।

बिआरआईअन्तर्गत नभएको प्रष्टोक्ति

कतिपयले पोखरा विमानस्थललाई चिनियाँ बिआरआई परियोजनासँग जोड्ने गरेकोमा अधिकारीले त्यसको खण्डन गरेका छन् । उनका अनुसार विमानस्थलको योजना २०१२ मा नै सुरू भएको थियो भने बिआरआई २०१७ मा मात्र लागू भएकाले यो आयोजना त्यसअन्तर्गत पर्दैन ।

अधिकारीले भने, “पोखरा विमानस्थललाई लिएर सिंगो देशलाई नै बदनाम गर्ने षड्यन्त्र भइरहेको छ, तर तथ्य यही हो—यो बिआरआई परियोजना होइन ।”



प्रतिक्रिया दिनुहोस !