१९ मंसिर २०८२, शुक्रबार

तरलता व्यवस्थापन गर्न राष्ट्र बैंकले ३० अर्ब निक्षेप संकलन गर्दै

प्रकाशित मिति :  20 August, 2025 1:21 pm


काठमाडौँ । वित्तीय प्रणालीमा बढ्दो तरलता नियन्त्रण गर्न नेपाल राष्ट्र बैंकले आज (बुधवार) ३० अर्ब रुपैयाँ निक्षेप संकलन गर्न लागेको छ । निक्षेप संकलन उपकरणमार्फत बोलकबोल प्रणाली प्रयोग गरेर रकम संकलन गर्न लागिएको हो ।

हाल देशको कुल निक्षेप ७२ खर्ब रुपैयाँभन्दा बढी पुगेको छ । तरलता बढेसँगै ब्याजदर व्यवस्थापनमा चुनौती देखिएपछि राष्ट्र बैंकले संरचनात्मक खुला बजार कारोबार अन्तर्गत दीर्घकालीन निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।

केन्द्रीय बैंकको खुला बजार कारोबारसम्बन्धी कार्यविधिअनुसार, बजारमा दीर्घकालीन तरलता देखिएमा बढीमा ६ महिनासम्मको अवधिका लागि निक्षेप संकलन उपकरण प्रयोग गर्न सकिने व्यवस्था छ । यही प्रावधानअनुसार पटकपटक यस्तो कदम चालिँदै आएको हो ।

आज हुने बोलकबोलमा क, ख र ग वर्गका इजाजतप्राप्त बैंक तथा वित्तीय संस्थामात्र सहभागी हुन पाउनेछन् । सहभागी संस्थाले पेश गर्ने ब्याजदरअनुसार प्राथमिकता दिइनेछ । सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्ने निकायलाई प्राथमिकता दिँदै ३० अर्ब रुपैयाँसम्मको निक्षेप क्रमशः बाँडफाँट गरिने राष्ट्र बैंकले जनाएको छ ।

बोलकबोल अनलाइन खरिद प्रणालीमार्फत हुनेछ । यस निक्षेप संकलन उपकरणको सावाँ तथा ब्याज आगामी २०८२ भदौ २९ गते भुक्तानी गरिनेछ ।

राष्ट्र बैंकका अनुसार न्यूनतम बोलकबोल रकम १० करोड रुपैयाँ तोकिएको छ भने अधिकतम सीमा ५ करोडको गुणनफलमा भाग लाग्ने गरी कुल आह्वान रकमसम्म हुनेछ ।



प्रतिक्रिया दिनुहोस !