१९ मंसिर २०८२, शुक्रबार
सरकारकाे सकारात्मक सुरुवात

पहिलो महिनामै खर्चभन्दा दोब्बर आम्दानी : सरकारले कमायो ८५ अर्ब

प्रकाशित मिति :  22 August, 2025 6:47 am


काठमाडौँ । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो महिना (साउन)मा सरकारले खर्चभन्दा करिब दोब्बर आम्दानी गरेको छ । महालेखा नियन्त्रक कार्यालयले सार्वजनिक गरेको तथ्यांकअनुसार साउन महिनामा सरकारको कुल आम्दानी ८५ अर्ब १९ करोड रुपियाँ रहेको छ भने खर्च ४६ अर्ब ३० करोड रुपियाँमा सीमित भएको छ ।

खर्चभन्दा आम्दानी धेरै

लक्ष्यअनुसार चालु आवमा सरकारले कुल १९ खर्ब ६४ अर्ब ११ करोड खर्च गर्ने योजना बनाएको छ । तर पहिलो महिनामा सोको २.३६ प्रतिशत अर्थात् ४६ अर्ब ३० करोड मात्र खर्च भएको देखिन्छ ।

खर्च शीर्षकमा सबैभन्दा ठूलो हिस्सा वित्तीय व्यवस्थामा परेको छ, जसमा २७ अर्ब १० करोड खर्च भएको छ । यस शीर्षकको ठूलो हिस्सा ऋणको सावाँ भुक्तानीमै जाने गर्छ ।

त्यसपछि चालुतर्फ १८ अर्ब ४७ करोड खर्च भएको छ भने विकास निर्माणसँग प्रत्यक्ष सम्बन्धित पुँजीगत खर्च भने अत्यन्तै न्यून देखिएको छ-केवल ७२ करोड ७३ लाख मात्र ।

राजस्व मुख्य आम्दानीको स्रोत

साउनमा सरकारले जम्मा ८४ अर्ब ४६ करोड आम्दानी गरेको छ । यसमध्ये कर राजस्वबाट मात्रै ८० अर्ब ६७ करोड संकलन भएको छ । त्यस्तै, तीन अर्ब ७९ करोड गैरकर राजस्व रहेको छ ।

यससँगै सरकारले ४२ करोड १९ लाख अनुदान पाएको छ भने ३० करोड ८९ लाख अन्य स्रोत (मुख्यतः उठाउनुपर्ने बक्यौता) बाट प्राप्त गरेको छ । यी सबै स्रोत जोड्दा सरकारको खातामा जम्मा रकम ८५ अर्ब १९ करोड पुगेको छ ।

प्रारम्भिक महिनामा खर्च किन कम ?

सरकारी खर्च विशेषगरी पुँजीगत शीर्षकमा निकै कम हुनु सामान्य प्रवृत्ति मानिन्छ । प्रत्येक वर्षको पहिलो त्रैमासमा ठेक्कासम्बन्धी काम अघि नबढ्ने, तयारी प्रक्रिया र प्रशासनिक काममै समय खर्च हुने भएकाले विकास निर्माणका काममा गति आउन नसक्ने प्रचलन छ । यसैले पुँजीगत खर्च निकै न्यून देखिन्छ ।

साउन महिनामा सरकारको आम्दानी खर्चभन्दा ३८ अर्ब १६ करोड बढी भएको छ । तत्कालीन अवस्थाले सरकारको आर्थिक आधार बलियो देखाए पनि आगामी महिनाहरूमा पुँजीगत खर्च कति प्रभावकारी हुने हो भन्ने प्रश्न भने यथावत् छ ।

आर्थिक वर्षको लक्ष्यअनुसार विकास निर्माणमा रकम प्रवाह हुन सके मात्र समग्र अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्ने विश्लेषकहरू बताउँछन् ।



प्रतिक्रिया दिनुहोस !