१९ मंसिर २०८२, शुक्रबार

तीज र महिला सशक्तिकरण विषयक अन्तरक्रिया : तीज पर्व सभ्य र मर्यादित रूपमा मनाउन आग्रह

प्रकाशित मिति :  22 August, 2025 4:21 pm


विमल योगी,
दाङ । हरितालिका तीज पर्वलाई सभ्य र मर्यादित रूपमा मनाउनुपर्नेमा दाङमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बक्ताहरूले जोड दिएका छन् ।

प्रेस चाैतारी दाङले लुम्बिनी प्रदेश समितिको संयोजनमा घोराहीमा आयोजना गरेको तीज पर्व र महिला सशक्तिकरण विषयक अन्तरक्रियामा बोल्ने बक्ताहरूले तीजको मौलिकता जोगाउँदै यसलाई हर्ष र उल्लासपूर्ण तर सभ्य तरिकाले मनाउनुपर्ने धारणा राखेका हुन् ।

कार्यक्रममा प्रमुख अतिथि नेकपा (एमाले) पोलिटब्यूरो सदस्य शान्ता चौधरीले पछिल्लो समय तीज पर्व भड्किलो, खर्चिलो र उच्छृङ्खल बन्दै गएको भन्दै यसलाई सुधार गर्नुपर्ने बताइन् । उनले “एक महिनाअघिदेखि दर खाने परम्पराले तीजको मौलिकता हराउँदै गएको छ, त्यसलाई अन्त्य गर्न आवश्यक छ,” भनिन् ।

नेकपा (एमाले) केन्द्रीय सदस्य सीता सिग्देल न्यौपाने, नेपाल पत्रकार महासंघका केन्द्रीय सचिव सबिन प्रियासन, नेपाल प्रेस युनियनकी केन्द्रीय उप महासचिव सुलोचना गौतम, प्रेस सेन्टरकी केन्द्रीय उप महासचिव लक्ष्मी आचार्य, क्रान्तिकारी पत्रकार संगठनकी केन्द्रीय सदस्य सुशिला आचार्य, अखिल नेपाल महिला संघ दाङकी सचिव पशुपति चौधरी, नेपाल पत्रकार महासंघ दाङकी उपाध्यक्ष नारायणी रजौरे, अधिवक्ता सुष्मा केसीलगायतका बक्ताहरूले तीज पर्वले नेपालको कला र संस्कृतिको जगेर्नामा महत्वपूर्ण भूमिका खेल्ने भएकाले यसलाई रचनात्मक र सन्देशमूलक बनाउनुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रममा चाैतारी दाङका अध्यक्ष सुधासुमन ढकालले तीज पर्व र महिला सशक्तीकरण विषयक कार्यपत्र प्रस्तुत गरेकी थिइन् भने तीज पर्वको महत्त्वबारे तयार गरिएको भिडियो क्लिपसमेत प्रदर्शन गरिएको थियो । कार्यपत्रमाथि सञ्चारिका समूह दाङकी अध्यक्ष रञ्जिता शर्माले टिप्पणी गरेकी थिइन् ।

चाैतारी दाङकी महिला उपाध्यक्ष लक्ष्मी पोख्रेलको स्वागत मन्तव्यबाट सुरु भएको कार्यक्रममा धन्यवाद ज्ञापन प्रदेश समिति सचिव निता चौधरीले गरेकी थिइन् । कार्यक्रममा चाैतारी दाङको महिला विभाग संयोजक दिप्तिशिखा चौधरीले सञ्चालन गरेकी थिइन् ।



प्रतिक्रिया दिनुहोस !