राप्ती गाउँपालिकामा तीज विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न
तुलबहादुर कवँर मगर,
भालुबाङ ।
दाङको राप्ती गाउँपालिकामा शुक्रबार हरितालिका तीजको अवसरमा विशेष सांस्कृतिक कार्यक्रम सम्पन्न भएको छ । गाउँपालिकाका विभिन्न वडाका महिलाहरूको सहभागितामा आयोजित कार्यक्रममा सहभागीहरूले नाचगानसहित विविध सांस्कृतिक प्रस्तुति दिएका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै गाउँपालिकाका अध्यक्ष प्रकाश विष्टले तीज पर्वले चेली र माइतीबीचको सम्बन्धलाई अझ आत्मीय बनाउने बताए । उनले मौलिक पर्वलाई आत्मसात् गर्दै संस्कृतिको जगेर्ना गर्नु सबैको सामूहिक जिम्मेवारी भएको उल्लेख गरे ।
त्यसैगरी उपाध्यक्ष कमलापति चौधरीले तीजजस्ता पर्वले महिला सशक्तीकरण, सामाजिक सद्भाव र उत्साहको वातावरण सिर्जना गर्ने बताउँदै महिलाहरूले देखाएको सक्रियता र उत्साहप्रति धन्यवाद ज्ञापन गरिन् ।
राप्ती गाउँपालिकाले प्रत्येक वर्ष तीज पर्वको अवसरमा यस्ता कार्यक्रम आयोजना गर्दै आएको छ । यस वर्षको कार्यक्रममा सहभागीहरूले दर खाने, रमाइलो गर्ने र तीजको परम्परागत महत्व स्मरण गर्दै खुसी साटासाट गरेका थिए ।








