२१ मंसिर २०८२, आइतबार

आजपाका वरिष्ठ उपाध्यक्ष साहसहितका नेता एमाले प्रवेश

प्रकाशित मिति :  22 August, 2025 5:04 pm


काठमाडौँ । आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष तथा एमालेका पूर्व केन्द्रीय सदस्य उपेन्द्र साहसहितका नेता–कार्यकर्ता नेकपा (एमाले) मा प्रवेश गरेका छन् ।

पार्टी केन्द्रीय कार्यालय, च्यासल (ललितपुर) मा शुक्रबार आयोजित कार्यक्रममा अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले साहलाई प्रवेश गराउनुका साथै अन्य नेताहरूलाई पनि स्वागत गरे ।

प्रवेश गर्नेहरूमा आजपाका स्थायी कमिटी सदस्य मनोजकुमार यादव, फतुवा विजयपुर नगरपालिकाकी पूर्व उपप्रमुख कान्तिदेवी महतो, माधवनारायण नगरपालिकाकी पूर्व उपप्रमुख सिमलकुमारी साहसहित रौतहट र धनुषाका अन्य नेता–कार्यकर्ता रहेका छन् ।

अध्यक्ष ओलीले प्रवेश गर्नेहरूलाई स्वागत गर्दै “गलत बाटो देखाउनेहरूको बहकावमा लागेर केही समय अलमलमा परे पनि अब सही घर फर्कनुभएको छ” भन्दै धन्यवाद ज्ञापन गरे । उनले भने, “हामी शान्ति, मानवता, विकास र सुख चाहन्छौं । अपराधको सोच राख्नेहरूको जञ्जालबाट तपाईँहरू मुक्त हुनुभएको छ । अब हामी ठूलो परिवार भएर देश निर्माणमा जुटौं, गलत काम नगरौं ।”

सो अवसरमा अध्यक्ष ओलीले हाल चर्चामा रहेको पूर्व राष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता प्रकरणबारे पनि प्रष्ट पारे । उनले भने, “पूर्व राष्ट्रपतिसम्बन्धी एमाले केन्द्रीय कमिटीको निर्णयलाई तोडमोड गरिएको छ । उहाँ राष्ट्रपति भएपछि सदस्यता त्याग्नुभएको थियो । हुँदै नभएको सदस्यता कर्मचारीलाई झुक्याएर रसिद काट्दा कायम हुँदैन । पार्टीमा आएर सदस्यता नवीकरण वा नयाँ सदस्यताको लागि निवेदन पनि दिनुभएको छैन ।”

ओलीले असन्तुष्ट केही व्यक्तिहरूलाई जम्मा गरेर पार्टी एकतालाई असहयोग गर्ने प्रयास गरिएकोप्रति आश्चर्य व्यक्त गरे ।कार्यक्रममा एमाले प्रवेश गरेका उपाध्यक्ष साहले प्रभु साह नेतृत्वको आजपाले जनताको हितमा काम गर्ने दाबी भ्रम भएको अनुभव लिएको उल्लेख गर्दै, “जनताको पार्टी एमाले नै हाम्रो गन्तव्य हो,” भने ।



प्रतिक्रिया दिनुहोस !