महिला र बालबालिकामाथि हुने हिंसा वा अन्यायलाई समाजले स्वीकार्नु हुँदैन-शाक्य
काठमाडौँ । प्रथम महिला राधिका शाक्यले नेपाली समाजमा युवाले चाहे जुनसुकै क्षेत्रमा पनि काम गर्ने अवसर प्रशस्त रहेको बताएकी छिन् ।
अनेरास्ववियु केन्द्रीय महिला विभागले शनिबार आयोजना गरेको तीज विशेष सांस्कृतिक तथा दर खाने कार्यक्रममा प्रमुख अतिथिका रूपमा बोल्दै उनले समाजलाई कता लैजाने भन्ने जिम्मेवारी अहिलेको पुस्ताको हातमा रहेको बताएकी हुन् ।
महिला र बालबालिकामाथि हुने हिंसा वा अन्यायलाई समाजले स्वीकार्न नहुने भन्दै उनले देखिएका समस्यामा मौन नबसी आवाज उठाउनुपर्ने बताइन् ।
उनका अनुसार, “आफूलाई नपर्दासम्म यो उसको समस्या हो भन्ने सोच त्याग्नुपर्छ, समाजमा देखिएका अन्याय–अत्याचारमा बोल्नुपर्छ ।”
युवा पुस्ताले इमानदारी, लगनशीलता र मेहनतका साथ हरेक क्षेत्रमा सक्षम बन्नुपर्नेमा उनले जोड दिइन् । करिब ४० वर्षअघि आफू पनि केही समय अनेरास्ववियुमा सक्रिय रहेको स्मरण गर्दै उनले त्यतिबेलाको राजनीति आजभन्दा भिन्न भए पनि त्यही संगठनबाट अनुशासन, मेहनत र इमानदारी सिकेको बताइन् । उनका शब्दमा, “आजसम्म पनि मैले त्यही संस्कारलाई जीवनमा पालन गर्दै आएको महसुस गर्छु ।”
शाक्यले युवालाई अनावश्यक द्विविधा वा अस्थिर सोचबाट टाढा रहन सल्लाह दिइन् । उनले भनिन्, “यता जाउँ कि उता जाउँ भन्ने सोचले अघि बढ्ने बाटो अवरुद्ध हुन्छ ।”
जीवनलाई सफल र सुखमय बनाउन धैर्यता अपरिहार्य रहेको भन्दै उनले धैर्यता नै सबैभन्दा ठूलो हतियार भएको धारणा राखिन् । उनका अनुसार, “धैर्य बिना प्रगति सम्भव हुँदैन, आफ्नो लक्ष्यप्रति धैर्यतापूर्वक अघि बढ्नुपर्छ ।” कार्यक्रममा उपस्थित विद्यार्थी र युवापुस्तालाई उनले भविष्यमा सफलता प्राप्त गर्न शुभकामना दिइन् ।








