थारु समुदायको बर्का अट्वारी पर्वमा मुख्यमन्त्री आचार्यद्वारा शुभकामना
काठमाडौँ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले थारु समुदायको महान् चाड बर्का अट्वारी पर्वको अवसरमा शुभकामना व्यक्त गरेका छन् ।
मुख्यमन्त्री आचार्यले शुभकामना सन्देशमार्फत यो पर्वले सबैमा भाईचारा, एकता र समृद्धिको भावना जागृत होस् भन्ने कामना गरेका हुन् ।
उनले भने, ‘‘प्रकृतिपूजक थारु समुदायले श्रद्धा र उल्लासका साथ मनाउने यो पर्वले मौलिक धर्म, संस्कृति र परम्परालाई जोगाइराख्न महत्त्वपूर्ण भूमिका खेल्दै आएको छ । प्रदेशभित्र रहेका सबै जाति, समुदायका मौलिक धर्म, संस्कृति र परम्पराको संरक्षण र प्रवर्धनप्रति प्रदेश सरकार प्रतिबद्ध छ ।’’
नेपाल बहुजाति, बहुसंस्कृति र बहुधार्मिक विशेषताले भरिपूर्ण मुलुक भएकाले यहाँका विविध धर्म, भाषा र संस्कृतिले नेपालको गौरवलाई अझ बढाएको मुख्यमन्त्री आचार्यले उल्लेख गरे ।
उनका अनुसार थारु समुदायमा परापूर्वकालदेखि निरन्तरता पाइरहेका मौलिक परम्परामध्ये बर्का अट्वारी पर्व महत्वपूर्ण रूपमा स्थापित भएको छ ।
यस पर्वमा विशेष गरी थारु पुरुषहरूले उपवास बस्ने, निराहार ब्रतका साथ सूर्यको पूजा गर्ने धार्मिक तथा सांस्कृतिक परम्परा रहेको छ ।
सूर्यलाई उज्यालो र जीवनशक्तिको प्रतीकका रूपमा मान्ने थारु समुदायले बर्का अट्वारीलाई धर्म, संस्कृति र परम्पराको संरक्षणमा जोडिने पर्वका रूपमा स्थापित गरेको मुख्यमन्त्री आचार्यको भनाइ छ ।








