दाङसहित पश्चिम तराईमा थारू समुदायद्वारा अटवारी पर्व उल्लासपूर्वक मनाइँदै
दाङ । पश्चिम तराईका थारू समुदायले आज विविध सांस्कृतिक कार्यक्रम आयोजना गरी अटवारी पर्व उल्लासपूर्वक मनाइरहेका छन् । यो पर्व थारू समुदायका लागि अत्यन्तै महत्त्वपूर्ण मानिन्छ ।
राति दर खाएर शनिबार दिनभर व्रत बस्ने र साँझपख रोटी पकाई देवतालाई चढाइसकेपछि खाने, आइतबार बिहान भात–तरकारी पकाई चढाएपछि मात्र खाने परम्परा यस समुदायमा प्रचलित छ ।
घोराही उपमहानगरपालिका–१७ का थारू अगुवा सरस्वती चौधरीका अनुसार रोटीसँगै दही, फलफूल आदि परिकार अग्नि देवतालाई चढाउने र दिदीबहिनीका लागि अग्रासन छुट्याई खाने चलन रहिआएको छ ।
‘‘अटवारी पर्व हाम्रो समुदायका लागि हिन्दूहरूको तीजजस्तै महत्त्वपूर्ण छ । दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि पानीसमेत नखाई व्रत बस्ने परम्परा छ,’’ चौधरीले बताए ।
यस्तै, घोराही उपमहानगरपालिका–३ का सुरज चौधरीका अनुसार दोस्रो दिन बिहान भात–तरकारी पकाई अग्रासन दिने चलन छ ।
‘‘यो पर्व कुसेऔँसी पछिको पहिलो आइतबार मनाइन्छ । दाजुभाइले दिदीबहिनीको सौभाग्यका लागि व्रत बसेपछि दिदीबहिनीका घरमा कोसेली पुर्याएर पर्व सम्पन्न हुन्छ,’’ उनले बताए ।
पौराणिक कथाअनुसार अटवारी पर्व महाभारतका पाँच पाण्डवमध्ये भीम र दाङका थारूराजा दंगीशरणसँग सम्बन्धित छ । कथाअनुसार, शत्रुको आक्रमण रोक्न भीमले भोकैपेटमा पानीसमेत नखाई राजा दंगीशरणको पक्षमा लडेर विजय हासिल गरेका थिए । सो विजयोत्सवकै स्मृतिमा थारू समुदायले अटवारी पर्व मनाउने परम्परा बसालिएको हो । यस कारण यस पर्वमा पुरुषहरूले भीमजस्तै बलियो हुन व्रत बस्ने चलन रहेको थारू संस्कृतिविद् अशोक चौधरीले बताए ।
यसैबीच, लुम्बिनी प्रदेश सरकारले अटवारी पर्वको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । दाङ, बाँके, बर्दिया, रूपन्देही, कपिलवस्तु र पश्चिम नवलपरासीसहित थारू समुदायको बाक्लो बसोबास भएका ६ जिल्लामा सार्वजनिक बिदा दिइएको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले जनाएको छ ।








