टिप्परले माेटरसाइकललाई ठक्कर दिँदा दाङमा एक जनाकाे मृत्यु
दाङ । दाङमा टिप्परको ठक्करबाट मोटरसाइकलमा सवार एक युवकको मृत्यु भएको छ । आज बिहान पूर्व–पश्चिम राजमार्गअन्तर्गत गढवा गाउँपालिका–१, धोद्रे पुल नजिक चन्द्रौटादेखि पश्चिमतर्फ जाँदै गरेको ना. ८ ख. ८२५९ नम्बरको टिप्परले प्युठानबाट चन्द्रौटातर्फ जाँदै गरेको लु. ३९ प. ८३९० नम्बरको मोटरसाइकललाई ठक्कर दिएकाे थियाे ।
दुर्घटनामा गम्भीर घाइते भएका प्युठानको ऐरावती गाउँपालिका–५ निवासी १९ वर्षिय सुशील थापाकाे भालुवाङ अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय गढवाका प्रमुख प्रहरी निरीक्षक डवलबहादुर बमले जानकारी दिए ।
दुर्घटनामा मोटरसाइकल चालक गढवा गाउँपालिका–१ निवासी २२ वर्षिय प्रचण्ड थापा घाइते भएका छन् । उनको भालुवाङ अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको प्रहरीले जनाएको छ ।
मृतकको शवलाई पोष्टमार्टमका लागि लमही अस्पताल पठाइएको छ भने टिप्पर र त्यसका चालकलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।








