२० मंसिर २०८२, शनिबार

एमसीसीमा अमेरिकी दबाबका अगाडि सरकार आत्मसमर्पण गर्‍यो-महासचिव विप्लव

प्रकाशित मिति :  24 August, 2025 2:38 pm


काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ले मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजनाबारे नेपाल सरकारले अमेरिकी उपनिवेशवादी दबाबको सामना गर्न नसकेको आरोप लगाएका छन् ।

आइतबार काठमाडौंमा आयोजित एक अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले संसद्बाट एमसीसी अनुमोदन हुनु सरकारको आत्मसमर्पणवादी कदम भएको दाबी गरे ।

संसद्भित्र एमसीसीको पक्षमा मतदान गर्ने सांसदहरूको व्यवहार जनताले अस्वीकार गरेको भन्दै विप्लवले एमसीसी नेपालको संविधान र कानुन विपरीत रहेको बताए ।

उनले भने, “मिलेनियम च्यालेन्ज कर्पोरेसनको सन्दर्भमा नेपाल सरकार अमेरिकी उपनिवेशवादी दबाबसामु टिक्न सकेन र सन् २०२२ फेब्रुअरी २७ मा संसद्बाट अनुमोदन गर्नुपर्‍यो । त्यतिबेला संसद्बाहिर बानेश्वर क्षेत्रमा आन्दोलनकारीसँग भिडन्त भयो, सयौं कार्यकर्ता घाइते भए र धेरैले मुद्दा खेप्नुपर्‍यो । संसद्भित्र देखिएको आत्मसमर्पणवादी कुरुप परिदृश्य जनताका लागि पीडादायी थियो । संसद र सरकारले पास गरे पनि एमसीसीलाई जनताले मान्यता दिएका छैनन् ।”

परियोजना कार्यान्वयनका क्रममा जमिन अधिग्रहणका विषयमा स्थानीयवासीको गुनासो र आक्रोशलाई बेवास्ता गरिएको भन्दै उनले नागरिकमा अझै पनि असन्तोष व्याप्त रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !