२० मंसिर २०८२, शनिबार

प्रधानमन्त्री ओलीको शुभकामना : शील, सौजन्य र उदारताको पर्व हो हरितालिका तीज

प्रकाशित मिति :  26 August, 2025 7:08 am


काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका तीजलाई शील, सौजन्य र उदारताको पर्वका रूपमा व्याख्या गर्दै नेपाली दिदीबहिनीहरूलाई मंगलमय शुभकामना दिएका छन् ।

तीजलाई प्रायः गीत–नृत्यको पर्वका रूपमा मात्र बुझ्ने चलन रहे पनि यसको गहिरो सम्बन्ध व्रत, संयम र आत्म–अनुशासनसँग जोडिएको प्रधानमन्त्री ओलीको भनाइ छ।

उनले प्राचीन समयमा पतिपत्नी दुवैले सप्तऋषिको पूजा गर्दै व्रत बस्ने परम्परा रहेको तर पछि महिलामात्र व्रत बस्ने परम्परा विकसित भएको ऐतिहासिक सन्दर्भ पनि स्मरण गरे ।

समाजमा नयाँ दृष्टिकोणहरू थपिँदै गएको उल्लेख गर्दै उनले तीजलाई आत्मिक शुद्धता र दाम्पत्य जीवन सुदृढीकरणको व्रतोत्सवका रूपमा हाम्रो संस्कृतिले लिएको बताए ।

उनले हाल विज्ञानले पनि व्रत बस्दा शरीरलाई फाइदा हुने भन्ने तर्क अघि सार्न थालेको उल्लेख गर्दै यस पर्वलाई स्वास्थ्य र जीवनशैलीसँग पनि सम्बन्धित गर्न सकिने धारणा राखे ।

“संयुक्त परिवार संस्कृतिको सुगन्ध बोकेको हरितालिका तीजले सबैको परिवारमा आत्मीयता, दाम्पत्यमा उल्लास र समाजमा सौहार्द फैलाओस्,” प्रधानमन्त्री ओलीले शुभकामना सन्देशमा लेखेका छन् । उनले अन्त्यमा सम्पूर्ण नेपाली दिदीबहिनीलाई हरितालिका तीजको मंगलमय शुभकामना व्यक्त गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !