सेवा प्रवाहमा सरकारी सक्रियता : २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय
प्रकाशित मिति : 26 August, 2025 10:34 am
काठमाडौँ । सरकारले सेवा प्रवाहलाई सहज र प्रभावकारी बनाउन २३ जिल्लामा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने भएको छ। सोमबार बसेको मन्त्रिपरिषद बैठकले यस सम्बन्धी प्रस्ताव प्रशासन समितिमा पठाउने निर्णय गरेको हो ।
गृह मन्त्रालयका अनुसार प्रशासन समितिले आवश्यक छलफल गरी कार्यान्वयनका लागि अघि बढाउनेछ। जिल्ला प्रशासन कार्यालय र इलाका प्रशासन कार्यालयमार्फत प्रदान गरिने सेवालाई थप सरल र पहुँचयुक्त बनाउनका लागि एकैपटक ठूलो संख्यामा कार्यालय स्थापना गर्ने तयारी गरिएको हो ।
मन्त्रालयले सेवा प्रवाह गर्नुपर्ने क्षेत्रको जनसंख्या, भौगोलिक अवस्था र पहुँचबिच देखिएको असमानतालाई ध्यानमा राखेर २३ जिल्लामा नयाँ कार्यालय खोल्ने निर्णय गरिएको जनाएको छ । मन्त्रालयका अनुसार भविष्यमा पनि आवश्यकता र मागअनुसार थप इलाका प्रशासन कार्यालय स्थापना गर्ने योजना रहेको छ।








