१९ मंसिर २०८२, शुक्रबार

नेपालमै आएर लगानी गर्न विदेशमा रहेका नेपालीलाई अर्थमन्त्री पौडेलको आह्वान

प्रकाशित मिति :  26 August, 2025 6:20 pm


काठमाडौँ । उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णु पौडेलले विश्वभर छरिएर रहेका नेपालीलाई नेपालमै आएर लगानी गर्न आह्वान गरेका छन् ।

एसोसिएसन अफ नेपाली ओरिजिन (एएनओ) नेपाल च्याप्टरको प्रथम अधिवेशनलाई मंगलबार उद्घाटन गर्दै उनले विभिन्न कारणले विदेशमा बसोबास गर्दै व्यवसाय गरिरहेका नेपालीले आफ्नो सीप, पूँजी र अनुभवलाई स्वदेशमै प्रयोग गर्नुपर्ने आवश्यकता औंल्याए ।

अर्थमन्त्री पौडेलले भने, “देशको विकास र समृद्धि नै सबै नेपालीको सुख र समृद्धि हो । यसै उद्देश्यका साथ सरकारले लगानीमैत्री वातावरण तयार पारिरहेको छ र अझै सहजीकरण गर्न तयार छ । यसका लागि विदेशमा रहनुभएका नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोग अपरिहार्य छ ।”

सांस्कृतिक राष्ट्रियतालाई जोड्न र आपसी आदान–प्रदानलाई बलियो बनाउन एएनओले महत्त्वपूर्ण भूमिका निर्वाह गर्न सक्ने उनको भनाइ थियो ।

एएनओका केन्द्रीय अध्यक्ष डिल्ली अधिकारीले संस्था विश्वका ३२ देशमा रहेका नेपालीहरूको सहभागितामा गत वर्ष थाइल्यान्डमा गठन भएको जानकारी दिए । उनका अनुसार संस्था आम नेपालीको सुनौलो भविष्य निर्माणमा सहयोग पुगोस् भन्ने उद्देश्यले स्थापित भएको हो ।

महासचिव चुडामणि भट्टराई, नेपाल टेलिभिजन सञ्चालक समिति सदस्य तथा कार्यक्रम सञ्चालक फूलमान बल र इन्ट्रा फाउन्डेसन नेपाल च्याप्टरका अध्यक्ष बाबुकृष्ण कार्कीले पनि एएनओको उद्देश्य र गतिविधिबारे आफ्ना धारणा राखेको थियो ।

उक्त सम्मेलनले पूर्वउपरथि कृष्णप्रसाद सापकोटाको संयोजकत्वमा १३ सदस्यीय एएनओ नेपाल च्याप्टर गठन गरेको छ । जसमा राजेन्द्र अधिकारी उपाध्यक्ष, फूलमान बल महासचिव, कृष्णप्रसाद ओडारी सचिव, यमुना पराजुली अधिकारी कोषाध्यक्ष र गीता गुरुङ, डा. सुशीला नेपाली, रन्जन बिडारी, कृष्ण विक, रविता तामाङ, सुनिल थापा तथा दीक्षा चपाई सदस्य चयन भएका छन् ।



प्रतिक्रिया दिनुहोस !