अर्घाखाँचीको शितगंगा र रुपन्देहीकाे गाैडहवामा इलाका प्रशासन कार्यालय स्थापना हुने
दाङ । नेपाल सरकारले देशभर २३ स्थानमा नयाँ इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको छ, जसअन्तर्गत लुम्बिनी प्रदेशमा दुई वटा कार्यालय थपिने भएका छन् ।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले अर्घाखाँचीको शितगंगा नगरपालिका र रूपन्देहीको गैडहवा गाउँपालिकासहित देशभर २३ वटा इलाका प्रशासन कार्यालय स्थापना गर्ने निर्णय गरेको थियाे ।
यसअघि नागरिकता, राहदानीलगायतका अत्यावश्यक कागजातका लागि जिल्लाको सदरमुकाम सन्धिखर्क धाउनुपर्ने बाध्यता रहेकामा अब शितगंगावासीले स्थानीयमै सेवा पाउने भएका छन् । त्यस्तै, रूपन्देहीको गैडहवा गाउँपालिकाका स्थानीयलाई पनि नयाँ कार्यालयले सहज सुविधा दिलाउने अपेक्षा गरिएको छ ।
स्थानीयको लामो मागका आधारमा लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले प्रधानमन्त्री केपी शर्मा ओलीसँग विशेष आग्रह गरेका थिए । मुख्यमन्त्रीको पहल र केन्द्र सरकारको निर्णयसँगै शितगंगा र गैडहवामा प्रशासनिक सेवा विस्तार हुने पक्का भएको हो ।
भौगोलिक रूपमा ठूलो क्षेत्रफल र जनसंख्या घनत्वका कारण शितगंगा र गैडहवामा कार्यालय स्थापना गर्नुपर्ने माग वर्षौंदेखि उठ्दै आएको थियो । यो निर्णयले स्थानीयमा उत्साह थपिएको छ ।
सरकारले यसपालि थप गरेका २३ इलाका प्रशासन कार्यालयमध्ये अर्घाखाँचीको शितगंगा, रूपन्देहीको गैडहवासहित तनहुँको भिमाद, चितवनको खैरहनी, संखुवासभाको हेदङ्गवा, दार्चुलाको गोकुलेश्वर, बाजुराको कोल्टीलगायत स्थानहरू समेटिएका छन् ।
प्रधानमन्त्री ओली नेतृत्वको सरकारले सुशासन प्रवर्द्धन गर्ने उद्देश्यले गरेको यस निर्णयलाई अर्घाखाँची र रूपन्देहीवासीले स्वागत गरेका छन् ।
यस्तै खानेपानी तथा ढल व्यवस्थापन कार्यालय फिल्ड कार्यालय भने अर्घाखाँचीको सन्धिखर्कमै कायम राखिएको छ । यस विषयमा मुख्यमन्त्री आचार्यले संघीय सरकारको ध्यानाकर्षण गराएका थिए ।
केही समयअघि जिल्लाका एमाले र कांग्रेसका शीर्ष नेताहरूले काठमाडौं पुगेर गृहमन्त्री रमेश लेखकलाई भेट्दै मागहरू राखेका थिए ।
यी हुन् स्थापना हुने नयाँ इलाका प्रशासन कार्यालयहरु
१. इलाका प्रशासन कार्यालय सिरिजंगा–ताप्लेजुङ
२.इलाका प्रशासन कार्यालय हलेसी–खोटाङ्ग
३.इलाका प्रशासन कार्यालय घोराखोरी–ओखलढुंगा
४. इलाका प्रशासन कार्यालय सुखिपुर–सिरहा
५. इलाका प्रशासन कार्यालय धनुषाधाम–धनुषा
६. इलाका प्रशासन कार्यालय वलरा–सर्लाही
७.इलाका प्रशासन कार्यालय पोखरिया–पर्सा
८. इलाका प्रशासन कार्यालय दुधौली–सिन्धुली
९. इलाका प्रशासन कार्यालय टोखा–काठमाडौं
१०.इलाका प्रशासन कार्यालय धो–डोल्पा
११. इलाका प्रशासन कार्यालय खत्याड–मुगु
१२. इलाका प्रशासन कार्यालय रास्कोट–कालिकोट
१३. इलाका प्रशासन कार्यालय कोल्टी–बाजुरा
१४. इलाका प्रशासन कार्यालय देउरा–बझाङ्ग
१५. इलाका प्रशासन कार्यालय साफेबगर–अछाम
१६. इलाका प्रशासन कार्यालय विपिनगर–डोटी
१७. इलाका प्रशासन कार्यालय गोकुलेश्वर–दार्चुला
१८. इलाका प्रशासन कार्यालय मेलौली–बैतडी
१९. इलाका प्रशासन कार्यालय हेदङ्गवा–संखुवासभा
२०. इलाका प्रशासन कार्यालय गैडहवा–रुपन्देही
२१. इलाका प्रशासन कार्यालय भिमाद–तनहुँ
२२. इलाका प्रशासन कार्यालय सितगंगा–अर्घाखाँची
२३. इलाका प्रशासन कार्यालय खैरहनी–चितवन








