२० मंसिर २०८२, शनिबार

सरकारले आईटी जनशक्तिलाई दुई लाखसम्म तलब दिने व्यवस्था गरेकाे छ-प्रधानमन्त्री ओली

प्रकाशित मिति :  28 August, 2025 8:55 am


काठमाडौँ । सूचना प्रविधि (आईटी) क्षेत्रमा काम गर्ने दक्ष जनशक्तिलाई सरकारले आकर्षक तलबसहित रोजगार दिने तयारी गरेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले सामाजिक सञ्जाल फेसबुकमार्फत् यसबारे जानकारी दिँदै दक्ष आईटी जनशक्तिलाई मासिक दुई लाख रुपैयाँसम्म तलबको व्यवस्था गरिएको बताएका छन् ।

उनका अनुसार यस कदमले अनलाइनमार्फत सरकारी सेवा विस्तारलाई सहज र प्रभावकारी बनाउन मद्दत गर्नेछ । यसअघि देखिएको सेवामा ढिलासुस्ती गर्ने, घुस र कमिसन लिने प्रवृत्ति नियन्त्रण हुने विश्वास प्रधानमन्त्री ओलीले व्यक्त गरेका छन् ।

आईटी क्षेत्रको दक्ष जनशक्ति विदेशी रोजगारतर्फ आकर्षित हुँदै आएको अवस्थामा सरकारले यस्तो व्यवस्था गर्नु सुखद् कदम भएको ओलीको भनाइ छ । “यसबाट हाम्रो दक्ष जनशक्ति विदेश पलायन हुनबाट रोकिनेछ,” प्रधानमन्त्रीले भनेका छन्।

उनले थप बताएका छन्, “यसले सफ्टवेयर प्रणाली विकासको लागत अनुमानलाई यथार्थपरक बनाउनेछ। आईटी पढेका जनशक्तिका लागि यो ऐतिहासिक अवसर हो ।”

सरकारले हालै सार्वजनिक सेवामा डिजिटल प्रविधिको उपयोग बढाउँदै ई–गभर्नेन्स प्रणालीलाई मजबुत बनाउन विभिन्न कार्यक्रम अघि सारेको छ ।

आईटी जनशक्तिलाई उच्च पारिश्रमिक दिने सरकारी निर्णयलाई प्रविधि क्षेत्रका विज्ञहरूले दीर्घकालीन दृष्टिकोणसहितको सकारात्मक पहलका रूपमा व्याख्या गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !