१९ मंसिर २०८२, शुक्रबार

लुम्बिनी सांस्कृतिक नगर प्रमुख मुसलमानको निधन

प्रकाशित मिति :  30 August, 2025 11:43 am


रुपन्देही । लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख सजरुद्धिन मुसलमानको शनिबार बिहान निधन भएको छ । हृदयाघातका कारण ७२ वर्षिय मुसलमानको निधन भएको नगरपालिकाका परामर्शदाता तुलसीराम लामिछानेले जानकारी दिए ।

मुसलमानलाई बिहान अचानक छातीमा समस्या देखिएपछि परिवारले चिकित्सकसहित भैरहवास्थित अस्पतालतर्फ लैजाँदै गर्दा भैरहवा–लुम्बिनी सडकअन्तर्गत महजिदिया नजिकै निधन भएको लामिछानेले बताए ।

नेपाली कांग्रेसका तर्फबाट नगर प्रमुखमा निर्वाचित भएका मुसलमानले गत स्थानीय तह निर्वाचनमा जनमत पार्टीका उम्मेदवार सीके गुप्तालाई पराजित गरेका थिए । शुक्रबार मात्रै मुसलमान नगरपालिकाको टोलीसँग सिंगापुर र मलेसियाको सातदिने भ्रमण पूरा गरेर घर फर्किएका थिए ।

हाल लुम्बिनी सांस्कृतिक नगरपालिका–३, पडरियास्थित निवासमा मुसलमानको शव राखिएको परिवारले जनाएको छ । उनको निधनले नगरवासी स्तब्ध बनेका छन् ।



प्रतिक्रिया दिनुहोस !