प्रधानमन्त्री ओली चीनमा : राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता आजै
प्रकाशित मिति : 30 August, 2025 3:14 pm
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली शाङ्घाई सहयोग संगठन (एससिओ) को शिखर सम्मेलनमा सहभागी हुन शनिबार चीनको थियानजिन शहर पुगेका छन् ।
मित्रराष्ट्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री ओली आज दिउँसो स्थानीय समय अनुसार ३:१५ बजे हिमालयन एयरलाइन्सको विशेष विमानमार्फत थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।
प्रधानमन्त्री ओलीलाई विमानस्थलमा चीन सरकारका उच्च अधिकारी, चीनका लागि नेपालका राजदूत डा. कृष्णप्रसाद ओली र नेपालका लागि चीनका राजदूत चेन सोङलगायतले स्वागत गरेका थिए ।
प्रधानमन्त्री ओलीले चीन भ्रमणको क्रममा आजै राष्ट्रपति सी चिनफिङसँग भेटवार्ता गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।











