ओली-सी चिनफिङ भेट : लिपुलेकबारे चिनियाँ राष्ट्रपतिसँग प्रधानमन्त्री ओलीद्वारा आपत्ति प्रकट
काठमाडाैँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँगको भेटमा नेपाली भूमि लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने विषयमा चीन र भारतबीच भएको सहमतिको विरोध गरेका छन् ।
शनिबार शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनका क्रममा चीनको तियानजिनस्थित अतिथि गृहमा भएको द्विपक्षीय भेटपछि प्रधानमन्त्री ओलीले लिपुलेक नेपालको सार्वभौम भूभाग भएकाले यसबारे नेपाललाई पन्छाएर गरिएको सहमति अस्वीकार्य हुने स्पष्ट सन्देश दिएको उनको निजी सचिवालयले जनाएको छ।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार प्रधानमन्त्री ओलीले सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकाली नदीपूर्वका सम्पूर्ण भूभाग नेपालकै हुने प्रस्ट धारणा राख्दै यस विषयमा चीनले नेपाललाई सहयोग गर्ने अपेक्षा व्यक्त गरेका हुन् ।
प्रधानमन्त्रीको सचिवालयले पठाएको नोटमा भनिएको छ, “यस मामिलामा चीनले नेपाललाई सहयोग गर्नेछ भन्ने हाम्रो विश्वास नेपालले लिएको छ ।”
भेटका क्रममा नेपाल–चीन सम्बन्धलाई अझ सुदृढ बनाउन सहकार्यका संयन्त्रहरूलाई सक्रिय बनाउने समझदारी पनि भएको सचिवालयले जनाएको छ।
राष्ट्रपति सी र प्रधानमन्त्री ओलीबीचको छलफलमैत्रीपूर्ण वातावरणमा सम्पन्न भएको र दुबै देशबीच आपसी हितका क्षेत्रमा सहकार्य विस्तार गर्ने सहमति भएको पनि जानकारी दिइएको छ।








