लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको निधनप्रति मुख्यमन्त्री आचार्यद्वारा श्रद्धाञ्जली
दाङ । लुम्बिनी प्रदेश सभा सदस्य सरिता पुनको असामयिक निधनप्रति मुख्यमन्त्री चेतनारायण आचार्यले गहिरो शोक व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।
रुकुम पूर्व, पुथा उत्तरगंगा गाउँपालिका–१० तकसेरा बाछी गाउँ निवासी पुनको भदौ १४ गते शनिबार काठमाडौंस्थित शिक्षण अस्पतालमा उपचारको क्रममा निधन भएको हो ।
केही दिनअघि छोरीलाई जन्म दिने क्रममा ठूलो शल्यक्रिया गर्नुपरेको थियो भने त्यसपछि मुटुमा कृत्रिम भल्भ प्रत्यारोपण गरिएको थियो । उपचारकै क्रममा उनले जीवन गुमाएकी हुन् ।
मुख्यमन्त्री आचार्यले पुनको निधनले प्रदेश मात्र होइन, समग्र नेपाली समाज नै शोकाकुल भएको उल्लेख गरे । उनका अनुसार पुनले प्रदेश सभा सदस्यको रूपमा समाज परिवर्तन, सुशासन र जनआकांक्षालाई सम्बोधन गर्ने कार्यमा महत्वपूर्ण योगदान दिएकी थिइन् ।
‘‘पुनको असामयिक निधनले लुम्बिनी प्रदेशले एक दूरदर्शी, इमानदार, अनुशासित, विकासप्रेमी र निष्ठावान जनप्रतिनिधि गुमाएको छ, यो अपूरणीय क्षति हो,’‘ मुख्यमन्त्री आचार्यले जारी गर्नुभएको श्रद्धाञ्जली वक्तव्यमा उल्लेख छ ।
पुन सधैँ दुर्गम क्षेत्रका जनताको पीडा, माग र अपेक्षालाई आवाज दिने नेतृका रूपमा परिचित रहेको मुख्यमन्त्री आचार्यले स्मरण गरे । उनको सरल जीवनशैली, जनमुखी सोच र निरन्तरको जनसेवा आजीवन प्रेरणाको स्रोत बन्ने आचार्यको भनाइ छ ।









