सुदूरपश्चिम र कर्णालीमा आज उज्याली गौरा, दुर्वाष्टमी पर्व मनाइदै
दाङ । उमा–महेश्वरको आराधना र दुबोको पूजा गरेर आज सुदूरपश्चिम र कर्णाली प्रदेशका वासिन्दाले ऐतिहासिक र मौलिक पर्व उज्याली गौरा तथा दुर्वाष्टमी पर्व धुमधामका साथ मनाउँदैछन् ।
पहिले गाउँघरमै सीमित यो पर्व राजधानी काठमाडौंसहित देशका अन्य भागमा पनि विशेषगरी सुदूरपश्चिम–कर्णालीबाट बसाइँ सरेका समुदायबीच उत्साहपूर्वक मनाइने गरेको छ । काठमाडौंको टुँडिखेलमा आज देउडा गीत र नृत्यसँगै महिलाहरूको भीड लाग्ने अपेक्षा गरिएको छ ।
धर्मशास्त्रविद्हरूका अनुसार चान्द्रमासअनुसार भाद्र महिनामा मनाइने यो पर्व यसपटक शुक्ल पक्ष अष्टमीमा परेको छ । शुक्ल पक्षमा हुने गौरालाई उज्याली गौरा भनिन्छ भने कृष्ण पक्षमा पर्ने गौरालाई अँध्यारी गौरा भनिन्छ । यसवर्ष पहिलोपटक व्रत बस्ने बर्तालुका लागि शुभ मानिने भएकाले नयाँ पुस्तामा पनि यसको आकर्षण बढेको बताइन्छ ।
पर्वसँग गाँसिएका धार्मिक र सांस्कृतिक मान्यताले यसलाई अझ विशेष बनाएको छ । दुबो जसरी फैलिन्छ, त्यसरी नै सन्तान र दरसन्तान बढून् भन्ने विश्वासका साथ महिलाले व्रत बस्ने गर्छन् । पाँच किसिमका गेडागुडी भिजाएर तयार पारिने ‘बिरुडा’ देवीलाई चढाइने मुख्य प्रसाद हो । पूजा सम्पन्न भएपछि बिरुडा नै भक्तजनलाई बाँडिन्छ ।
सत्ययुगमा हिमालयकी पुत्री पार्वतीले महादेव पाउन भाद्र महिनामा कठोर तपस्या गरेको सम्झनामा सुरु भएको विश्वास गरिएको यो पर्वलाई आज सुदूरपश्चिमका गाउँ–गाउँमा मात्र नभई राजधानीमा पनि मौलिक पहिचानसहित मनाइन्छ । महिलाहरूले परम्परागत भेषभूषामा देउडा खेलेर रमाउने चलन राजधानीमा बसोबास गर्ने नयाँ पुस्तालाई आफ्नै संस्कृति अनुभव गराउने अवसर बनेको छ ।
धार्मिक विश्वासअनुसार दुबो र गौराको पूजा गर्दा सौभाग्य, दीर्घायु, गुण सम्पन्न सन्तान र कार्यसिद्धि प्राप्त हुने भनिएको छ । यसरी धार्मिक, सांस्कृतिक र सामुदायिक एकताको प्रतीक बनेको गौरा पर्व अब राजधानीमै सुदूरपश्चिम र कर्णाली प्रदेशवासीको सामूहिक उत्सवको रूप लिन थालेको छ ।








