प्रधानमन्त्री ओली चीनमा : चाउ इन्लाई–तेङ यिङ्चाओ स्मृति संग्रहालय अवलोकन
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनको तियानजिनस्थित चाउ इन्लाई र तेङ यिङ्चाओ स्मृति संग्रहालय अवलोकन गरेका छन् । चाउ इन्लाई चीनका पूर्व प्रधानमन्त्री हुन् ।
शाङ्घाई सहयोग संगठन (एससीओ) को शिखर सम्मेलनमा सहभागी हुन प्रधानमन्त्री ओली हिजाे चीन पुगेका हुन् । दिउँसो उनी थियानजिन विनहाइ अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका थिए ।
विमानस्थलमा चीन सरकारका उच्च अधिकारी र नेपालका लागि चीनका राजदूत डा. कृष्णप्रसाद ओलीसहित अन्य राजदूतले स्वागत गरेका थिए।
प्रधानमन्त्री ओलीले हिजाे साँझ चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटघाट गरेका थिए । भेटमा नेपाली भूभाग लिपुलेकलाई व्यापारिक मार्गका रूपमा प्रयोग गर्ने विषयमा चीन र भारतबीच भएको सहमतिको विरोध गरेका थिए ।
उनको सचिवालयका अनुसार, लिपुलेक नेपालको सार्वभौम भूभाग भएकाले नेपाललाई पन्छाएर गरिएको सहमति अस्वीकार्य हुने स्पष्ट सन्देश प्रधानमन्त्री ओलीले दिएका थिए ।
परराष्ट्र सचिव अमृतबहादुर राईका अनुसार, प्रधानमन्त्री ओलीले सन् १८१६ को सुगौली सन्धिबमोजिम महाकाली नदीपूर्वका सम्पूर्ण भूभाग नेपालकै हुने प्रष्ट धारणा राख्दै चीनले यस विषयमा सहयोग गर्ने अपेक्षा व्यक्त गरेका थिए ।
शिखर सम्मेलनको क्रममा प्रधानमन्त्री ओलीले सहभागी अन्य मुलुकका राष्ट्र तथा सरकार प्रमुखहरूसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
भदौ १७ मा उहाँले बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग विशेष भेटवार्ता गर्ने तय भएको छ । भेटवार्तामा नेपाल–चीनबीचको सम्बन्ध, सहकार्य र साझेदारीलाई मजबुत बनाउन सक्ने उपाय तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय विषयमा छलफल हुने प्रधानमन्त्री सचिवालयले जनाएको छ ।








