१९ मंसिर २०८२, शुक्रबार
सन्दर्भ : १८ औँ राष्ट्रिय पुस्तकालय दिवस

सामुदायिक पुस्तकालय शैक्षिक स्रोत केन्द्र हुन्-मन्त्री तिमिल्सिना

प्रकाशित मिति :  31 August, 2025 12:41 pm


दाङ । लुम्बिनी प्रदेशमा १८औँ पुस्तकालय दिवस–२०८२ विविध कार्यक्रमसहित मनाइएको छ । “हाम्रो पुस्तकालय हाम्रो भविष्य” भन्ने मूल नाराका साथ कपिलवस्तुमा आयोजित कार्यक्रममा सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले पुस्तकालयलाई केवल पुस्तक राख्ने स्थान नभई ज्ञान, चेतना र संस्कृतिको केन्द्रका रूपमा व्याख्या गरे ।

उनले समाजलाई शिक्षित, सशक्त र जागरूक बनाउन पुस्तकालय अमूल्य सम्पत्ति भएको उल्लेख गर्दै सूचना–प्रविधिको युगमा यसको महत्व अझ बढेको बताए । २०२२ सालको सर्वेक्षणअनुसार प्रदेशभित्र ११० सामुदायिक पुस्तकालय रहेको तथ्याङ्क प्रस्तुत गर्दै मन्त्री तिमिल्सिनाले यी पुस्तकालयको पहिचान, स्तरोन्नति र सुदृढीकरण प्रदेश सरकारको प्राथमिकता रहेको स्पष्ट पारे ।

साथै उनले सामुदायिक पुस्तकालयलाई शैक्षिक स्रोत केन्द्रका रूपमा विकास गर्ने, विद्यालय पुस्तकालयलाई आधुनिक शिक्षण सामग्रीसहित समृद्ध बनाउने, डिजिटल पुस्तकालय प्रणालीलाई विस्तार गर्ने तथा पुस्तकालय सञ्चालनमा स्थानीय तह, विद्यालय, समुदाय र निजी क्षेत्रबीच सहकार्य गर्ने नीति अवलम्बन गरिएको जानकारी दिए ।

मन्त्री तिमिल्सिनाले “हाम्रो पुस्तकालय हाम्रो भविष्य” भन्ने नाराले जिम्मेवारी र संकल्प दुवै गराएको भन्दै पुस्तकालयलाई जन–जनको अभियान बनाउन सबैलाई आह्वान गरे ।

उनले बालबालिकादेखि वृद्धसम्म सबैलाई पुस्तकालयतर्फ आकर्षित गर्ने, पुस्तकालयको संरक्षण र उपयोगमा सक्रिय सहभागिता जनाउने तथा अध्ययन–संस्कृतिको पुनर्जागरणमार्फत उज्ज्वल भविष्य निर्माण गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रमका क्रममा वि.सं. १९९३ सालमा स्थापित पशुपति प्रताप पुस्तकालयलाई सम्मान गरिएको थियो । मन्त्री तिमिल्सिनाले पठन–संस्कृति विकासमा यसको योगदानको प्रशंसा गर्दै आगामी दिनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

समारोहमा प्रदेश सभा सदस्य सुधाकर पाण्डे, मन्त्रालयका सचिव बसन्त प्रसाद कोईराला, मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयका सचिव कबिन्द्र नेपाल, कपिलवस्तु जिल्लाका पालिकाका प्रमुख–उपप्रमुख, जनप्रतिनिधि, समाजसेवी, शिक्षाप्रेमी, शिक्षक, विद्यार्थी तथा पत्रकारहरूको उपस्थिती रहेको थियो ।

सो अवसरमा वक्तृत्वकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पुरस्कार वितरण, प्रतिभावान विद्यार्थीलाई सम्मान र विभिन्न व्यक्तित्वलाई सम्मानसमेत गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !