१९ मंसिर २०८२, शुक्रबार

लुम्बिनी प्रदेशमा तीन दिन विविध कार्यक्रमसहित निजामती सेवा दिवस मनाइने

प्रकाशित मिति :  31 August, 2025 12:46 pm


दाङ । लुम्बिनी प्रदेशमा यस वर्षको प्रदेश निजामती सेवा दिवस–२०८२ तीन दिनसम्म विविध कार्यक्रमसहित मनाइने भएको छ । भदौ २० गतेदेखि २२ गतेसम्म हुने कार्यक्रममा रक्तदानदेखि खेलकुद, सांस्कृतिक प्रस्तुति, परिसंवाद र प्रभातफेरीसम्मका गतिविधि हुनेछन् ।

प्रदेश निजामती सेवा दिवस मूल समारोह समितिको बैठकले भदौ २० गते बिहान ७ बजे स्वास्थ्य मन्त्रालयको संयोजनमा नेपाल रेडक्रस सोसाइटी र सुरक्षा निकायसँग मिलेर रक्तदान कार्यक्रम आयोजना गर्ने निर्णय गरेको छ । सोही दिन दिउँसो १ बजे “संघीयता कार्यान्वयनमा प्रदेश निजामती सेवाका अवसर र चुनौती” विषयक अन्तरक्रिया हुने छ ।

भदौ २१ गते बिहान ७ बजे प्रशासनिक परिसर क्षेत्रमा वृक्षारोपण र बिहान ८ बजे सरसफाइ कार्यक्रम हुनेछ भने २० र २१ गते खेलकुद प्रतियोगिता आयोजना गरिनेछ । भदौ २२ गते बिहान प्रशासनिक संघीयता सम्बन्धी परिसंवाद, १० बजे सांस्कृतिक झाँकी तथा व्याण्ड बाजासहित प्रभातफेरी हुनेछ ।

मुख्यमन्त्री कार्यालयका सचिव कविन्द्र नेपालका अनुसार भदौ २२ गते बिहान ११ बजे कर्मचारीहरूको प्रतिभा प्रस्तुतीकरणसहित प्रदेश निजामती सेवा दिवसको मूल समारोह आयोजना गरिनेछ ।

सो अवसरमा उत्कृष्ट कार्य गर्ने कर्मचारीलाई प्रदेश निजामती सेवा पुरस्कारसमेत प्रदान गरिनेछ । यसैगरी दिवसको अवसरमा भदौ २०, २१ र २२ गते आ–आफ्नो मन्त्रालय र निकायमा दीपावली गर्ने निर्णय गरिएको छ।



प्रतिक्रिया दिनुहोस !