२० मंसिर २०८२, शनिबार

एमालेको दोस्रो विधान महाधिवेशनकाे तयारी तीब्र : कार्यसूची तय गर्न बैठक बस्दै

महाधिवेशनको मूल नारा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय
प्रकाशित मिति :  1 September, 2025 10:12 am


काठमाडाैँ । नेकपा एमालेको दोस्रो विधान महाधिवेशन भदौ २० देखि २२ गतेसम्म ललितपुरको गोदावरीस्थित सनराइज हलमा हुँदै छ । महाधिवेशनको मूल नाराको रूपमा ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो संकल्प, समृद्ध नेपाल सुखी नेपाली राष्ट्रिय गन्तव्य’ तय गरिएको छ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने महाधिवेशनको कार्यसूची तयार गर्न आज बिहान महासचिव शंकर पोखरेलको उपस्थितिमा बैठक बस्दैछ ।

पार्टी प्रचार तथा प्रकाशन विभागका प्रमुख राजेन्द्र गौतमका अनुसार महाधिवेशनमा २ हजार ३४ जना प्रतिनिधिसहित २ हजार ३ सय ४९ जना सहभागी हुनेछन्।

महाधिवेशनमा राजनीतिक, सांगठनिक र विधान प्रतिवेदन प्रस्तुत गरिनेछ भने निर्वाचन, अनुशासन, लेखा आयोग र सल्लाहकार परिषदको प्रतिवेदन पनि छपाइको काम भइरहेको छ। प्रतिनिधि परिचय पत्र छपाइ भइसकेको छ र अनलाइनमार्फत पनि उपलब्ध हुनेछ ।

गोदावरीस्थित हलमा प्रवेशका लागि चारवटा डिजिटल ढोकाको व्यवस्था गरिएको छ। प्रवेशमा क्यूआर कोड स्क्यान अनिवार्य हुनेछ । खाना र खाजाका लागि पनि व्यवस्थापन गरिएको छ ।

हल सजाउने र मञ्च व्यवस्थापनको काम तीव्र रूपमा जारी छ भने विभिन्न जनवर्गीय संगठन र स्थानीय कमिटीहरूले स्वागतद्वार निर्माण, झण्डा र महाधिवेशनको नारा अंकित व्यानर राख्ने तयारी गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !