एमाले लुम्बिनी प्रदेश स्कुल विभागद्वारा तीन दिने प्रशिक्षण सम्पन्न
बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश स्कुल विभागले पार्टी सञ्चालन र व्यवस्थापनसम्बन्धी तीन दिवसीय प्रशिक्षण कार्यक्रम आइतबार बुटवलस्थित जीवराज स्मृति प्रतिष्ठानमा सम्पन्न गरेको छ।
भाद्र १३ देखि १५ गतेसम्म सञ्चालन भएको बन्द प्रशिक्षणमा पालिकास्तरीय अध्यक्षहरुलाई संगठन सुदृढीकरण, कार्यशैली सुधार र व्यवस्थापन पद्धतिबारे अभिमुखीकरण दिइएको थियो ।
समापन सत्रलाई सम्बोधन गर्दै एमाले लुम्बिनी प्रदेश कमिटीका अध्यक्ष राधाकृष्ण कंडेलले प्रशिक्षणले पार्टीलाई चुस्तदुरुस्त र गतिशील बनाउन टेवा पुग्ने विश्वास व्यक्त गरे ।
उनले एमालेलाई देशकै उत्कृष्ट र जनमुखी पार्टी बनाउन नेता–कार्यकर्ताले विचार, संगठन र क्रियाशीलतामा जोड दिनुपर्ने आवश्यकता औंल्याए ।
प्रशिक्षणमा भाेजप्रसाद श्रेष्ठ, दलबहादुर गुरुङ, युवराज घिमिरे, डीआर घिमिरे, कल्पना थापा, बाबुराम बिक, बद्री खनाल र नरबहादुर घर्तीले विभिन्न सत्र सञ्चालन गरेका थिए ।
उनीहरूले बैठक सञ्चालन, माइन्यूट लेखन, तालिम व्यवस्थापन, विकास–निर्माणमा एमालेको दृष्टिकोण, लेखाविधि, प्रचारशैली, जनसंगठन र पार्टीबीचको समन्वय, पार्टी सञ्चालन र व्यवस्थापन, तथा अर्थराजनीति जस्ता विषयमा प्रशिक्षण प्रदान गरेका थिए ।
समापन सत्रको अध्यक्षता स्कुल विभागका प्रमुख भोजप्रसाद श्रेष्ठले गरेका थिए । उनले सहभागीहरूले उठाएका प्रश्नहरूको जवाफ पनि दिएका थिए ।
यसअघि पहिलो चरणमा नवलपरासी, रुपन्देही र कपिलवस्तुका पालिका कमिटी अध्यक्षलाई पनि सोही विषयमा प्रशिक्षण दिइएको स्कुल विभागले जनाएको छ ।








