पानी साझा हो, अर्को प्रदेशले उपयोग गर्न सक्छ- मुख्यमन्त्री आचार्य
दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले कालिगण्डकी नदीलाई साझा सम्पदा भन्दै यसको उपयोगलाई सहकार्यका आधारमा अघि बढाउनुपर्नेमा जोड दिएका छन् ।
लुम्बिनी र गण्डकी प्रदेशका मुख्यमन्त्रीबीच भएको दोस्रो समन्वय बैठकपछि पत्रकारसँग कुरा गर्दै उनले कालिगण्डकी डाइभर्सन योजनाबारे आफ्नो धारणा सार्वजनिक गरेका हुन् ।
“पानी भनेको साझा हो र त्यसलाई अर्को प्रदेशले पनि उपयोग गर्न सक्छ,” उनले भने, “तर गण्डकी नदी आसपासका तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आघात नपुग्ने गरी डाइभर्सन अघि बढाउनुपर्छ ।”
कालिगण्डकी डाइभर्सन योजनाअन्तर्गत नदीको पानीलाई सुरुङमार्फत स्याङ्जा, पाल्पा, नवलपुर हुँदै तानसेन र बुटवलसम्म लैजाने तयारी गरिएको छ । यस परियोजनाबाट सिंचाइ, खानेपानी तथा जलविद्युत् उत्पादन गर्ने लक्ष्य राखिएको छ ।
मुख्यमन्त्री आचार्यले प्रदेशहरूबीच सहकार्य र आपसी समन्वयमार्फत मात्रै ठूला विकास योजनाहरू प्रभावकारी रूपमा अघि बढ्न सक्ने उल्लेख गर्दै कालिगण्डकी परियोजना पनि साझा हितअनुरूप अघि बढाइने विश्वास व्यक्त गरे ।








