मुक्त कमलरीकाे जीवनस्तर सुधार्ने उपाय खाेज्दै राप्ती गाउँपालिका
तुलबहादुर कवँर मगर,
देउखुरी । दाङको राप्ती गाउँपालिकामा सोमबार मुक्त कमलरीको अधिकार सुनिश्चितता र उनीहरूको जीवनस्तर उकास्ने उद्देश्यले नीति, बजेट तथा कार्यक्रमबारे विशेष छलफल गरिएको छ ।
गाउँपालिकाका उपाध्यक्ष कमलापति चौधरीको अध्यक्षता र मुक्त कमलरी विकास मञ्चकी केन्द्रीय अध्यक्ष हिरामोती चौधरीको विशेष उपस्थितिमा सम्पन्न कार्यक्रममा शिक्षा, स्वास्थ्य, रोजगारी र सामाजिक सशक्तिकरणका विषयमा विस्तृत बहस भएको थियो ।
उपाध्यक्ष चौधरीले मुक्त कमलरीलाई आत्मनिर्भर बनाउन गाउँपालिकाले प्राथमिकतापूर्वक योजना बनाउँदै आएको उल्लेख गर्दै आगामी दिनमा आवश्यक नीतिगत र कार्यक्रमगत सहयोग गर्ने प्रतिबद्धता जनाइन् ।
त्यसैगरी, गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देविराम पाठकले मुक्त कमलरीको पहिचान, सामाजिक सशक्तिकरण र जीवनस्तर उकास्न सबै सरोकारवालाको सक्रिय सहकार्य अपरिहार्य रहेको धारणा राखिन् ।
कार्यक्रममा गाउँपालिकाका विभिन्न शाखा प्रमुखहरू, मुक्त कमलरी विकास मञ्चका पदाधिकारी र स्थानीय सरोकारवालाको उपस्थिति रहेको थियो ।
मञ्चकी अध्यक्ष हिरामोती चौधरीको विषय प्रवेशबाट सुरु भएको छलफल कार्यक्रमको सहजीकरण कानुनी सल्लाहकार उर्मिला चौधरीले गरेकी थिइन् ।








