पाकिस्तानमा आत्मघाती आक्रमण : कम्तीमा १३ को मृत्यु, ३० घाइते
काठमाडाैँ । पाकिस्तानको अशान्त दक्षिणपश्चिम प्रान्त बलुचिस्तानमा मङ्गलबार राति भएको आत्मघाती आक्रमणमा कम्तीमा १३ जनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्। प्रहरी र अस्पताल अधिकारीहरूले बुधबार यसबारे जानकारी दिएका हुन् ।
स्थानीय प्रहरी प्रमुख मजीद कैसरानीका अनुसार राजधानी क्वेटाको बाहिरी क्षेत्रमा चिहान नजिकै आयोजित र्याली सकिएलगत्तै विस्फोट भएको हो । घटनास्थलबाट आक्रमणकारीको शरीरका अंशहरू बरामद गरिएको उनले बताए ।
सरकारी अस्पतालका प्रवक्ता वसीम बेगका अनुसार अस्पतालमा १३ जनाको शव ल्याइएको छ भने दर्जनौँ घाइते उपचाररत छन् । केही घाइतेको अवस्था गम्भीर रहेको उनले जनाएका छन् ।
यो र्याली बलुचिस्तानका दिग्गज नेता तथा पूर्व प्रान्तीय मुख्यमन्त्री सरदार अताउल्ला मेङ्गलको पुण्यतिथिको अवसरमा आयोजना गरिएको थियो । बलुचिस्तान नेसनल पार्टीका नेता अख्तर मेङ्गल घटनाबाट सुरक्षित रहे पनि उनका केही समर्थक मृतक वा घाइतेमा परेका छन् ।
बलुचिस्तानका मुख्यमन्त्री सरफराज बुगतीले विस्फोटलाई “मानवताका शत्रुहरूको कायरतापूर्ण कार्य” भन्दै कडा शब्दमा निन्दा गरेका छन् । उनले घाइतेहरूको उपचार सुनिश्चित गर्न र अपराधीलाई न्यायको कठघरामा ल्याउन उच्चस्तरीय छानबिन गर्न आदेश दिएका छन् ।
इस्लामाबादमा गृहमन्त्री मोहसिन नकवीले पनि आक्रमणको निन्दा गर्दै “भारत समर्थित आतङ्कवादीहरूले पाकिस्तान अस्थिर बनाउन नागरिकलाई लक्षित गरेका” आरोप लगाए । तर उनले आफ्ना दाबीलाई पुष्टि गर्ने प्रमाण भने प्रस्तुत गरेनन् । भारतले यस्ता आरोपलाई निरन्तर अस्वीकार गर्दै आएको छ ।
बलुचिस्तान लामो समयदेखि तल्लो स्तरको विद्रोहको केन्द्र बनेको छ । बलुचिस्तान मुक्ति सेना (बिएलए) जस्ता समूहहरूले स्वतन्त्रताको माग गर्दै विशेषगरी सुरक्षा बल र पञ्जाब प्रान्तका कामदारहरूलाई बारम्बार आक्रमणको निशाना बनाउँदै आएका छन् ।
गत जुलाईमा पनि बलुचिस्तानको राजमार्गमा दुईवटा यात्रु बस रोकी बन्दुकधारीहरूले नौ जनाको अपहरण गरी हत्या गरेका थिए । अधिकांश यस्ता आक्रमणको जिम्मेवारी प्रतिबन्धित बिएलए समूहले लिँदै आएको छ । अधिकारीहरूले विद्रोह केही कम भएको दाबी गरे पनि यस क्षेत्र हिंसाबाट अझै मुक्त भएको छैन ।








