सामाजिक सञ्जाल बन्द गर्ने धम्की आपत्तिजनक : रास्वपा
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा सूचीकरण नभएका सामाजिक सञ्जालहरू बन्द गर्ने धम्की आपत्तिजनक रहेको जनाएको छ ।
प्रतिनिधि सभाको बिहीबारको बैठकमा रास्वपा सांसद आशोककुमार चौधरीले सामाजिक सञ्जालहरूको नियमन र व्यवस्थापन गर्नुपर्नेमा कुनै बिमति नभएको तर बन्द गर्ने चेतावनी दिने सरकारको नियत ठीक नरहेको बताए ।
‘‘सर्वोच्च अदालतले दिएको स्पष्ट परमादेश छ। यी प्लेटफर्महरू दर्ता गरेर नियमनमा ल्याउनुपर्छ। सरकारको कर्तव्य भनेको त्यही आदेशलाई अक्षरशः कार्यान्वयन गर्नु हो । त्यसका लागि कूटनीतिक वार्ता र दीर्घकालीन रणनीति अपनाउनु पर्छ। तर सरकार संयमता अपनाउनुको साटो एकदुई हप्ता भनेर धम्की दिने काम गरिरहेको छ, जुन जनहित विपरीत छ,’‘ सांसद चौधरीले संसदमा भने।
उनले नेपालमा ९० प्रतिशतभन्दा बढी नागरिक सामाजिक सञ्जाल प्रयोग गर्ने भएकाले कुनै पनि सन्दर्भमा सामाजिक सञ्जाल बन्द गर्ने निर्णय उचित नहुने जिकिर गरे ।








