२० मंसिर २०८२, शनिबार

सुशासन कायम गर्न निजामती सेवामा सुधार आवश्यक-सभापति देउवा

प्रकाशित मिति :  4 September, 2025 7:48 pm


काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले कर्मचारी वर्गको काँधमा सार्वजनिक सेवा प्रवाहलाई छिटोछरितो, चुस्त र प्रभावकारी बनाएर मुलुकमा सुशासन कायम गराउनुपर्ने गहन जिम्मेवारी रहेको बताएका छन् ।

नेपाल निजामती कर्मचारी युनियनको ३५औँ स्थापना दिवसको अवसरमा सोमबार आयोजित कार्यक्रममा सभापति देउवाले लोकतान्त्रिक परिवर्तनको भावना अनुरुप समय सापेक्ष रुपमा निजामती सेवामा व्यापक सुधार आवश्यक रहेको उल्लेख गर्दै ट्रेड युनियनहरूको भूमिका अझ महत्त्वपूर्ण हुने बताए ।

“सबल र सक्षम निजामती सेवा बनाउन ट्रेड युनियनहरूले विगतका कमी कमजोरी सच्याएर सरकारका हरेक सेवा चुस्त र दुरुस्त बनाउन क्रियाशील हुनुपर्छ,” उनले भने ।

कांग्रेस सभापति देउवाले युनियनलाई सबै राष्ट्र सेवक कर्मचारीहरूको अभिभावकको रूपमा नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्ने आवश्यकता रहेको उल्लेख गर्दै मुलुककै ठूलो लोकतान्त्रिक पार्टी कांग्रेसको शुभेच्छुक संस्था भएकाले युनियनको नीति निर्माणमा प्रभावकारी भूमिका रहने विश्वास व्यक्त गरे । राज्यले बनाउने नीतिमा छलफल, बहस र पैरवीमा पनि युनियनको रचनात्मक योगदान जरुरी हुने उनको भनाइ थियो ।

“इमानदार र कर्तव्यनिष्ठ कर्मचारी भए मात्र सुशासनको प्रत्याभूति गर्न सकिन्छ,” उनले भने। स्थायी सरकार भनिने कर्मचारीतन्त्रमा हुने नियुक्तिमा पेशागत दक्ष, सेवामैत्री र इमानदार कर्मचारी छनोटमा युनियनको सार्थक उपस्थिति आवश्यक हुने उनले जोड दिए।

कर्मचारीका आधारभूत आवश्यकतासँग जोडिएका समस्यामा सरकारको ध्यान जाने विश्वास दिलाउँदै उनले आफ्नो पार्टी सधैँ सहयोगी हुने प्रतिबद्धता व्यक्त गरे। निजामती सेवा ऐन, २०६४ जारी गराउन युनियनले खेलेको नेतृत्वदायी भूमिकाको विशेष स्मरण गर्दै उनले उक्त ऐनले कर्मचारीको पेसागत हकहित, सामाजिक सुरक्षा लगायतका क्षेत्रमा नयाँ ढोका खोलेको बताए। साथै, कर्मचारी समायोजनमा देखिएका कमजोरी सच्याउन पहल गर्ने पनि उनको भनाइ थियो।

सो अवसरमा युनियनका कार्यवाहक अध्यक्ष उत्तमकुमार कटुवालले संघीय निजामती सेवा विधेयकमा रहेका कमजोरी सच्याएर विधेयकलाई पूर्णता दिनुपर्नेमा जोड दिँदै कर्मचारी ट्रेड युनियनले सुशासन प्रवर्द्धन र सेवा प्रवाहलाई चुस्त बनाउन रचनात्मक सहयोग गर्ने विश्वास व्यक्त गरे।

युनियनका निवर्तमान अध्यक्ष गोपालप्रसाद पोखरेलले संवैधानिक निकायलगायत महत्वपूर्ण क्षेत्रमा लोकतन्त्रवादी कर्मचारीको उपस्थिति बलियो बनाउन नसकिएको उल्लेख गरे। कार्यक्रममा सभापति देउवाले युनियनले प्रकाशन गरेको ‘कर्मचारी’ नामक पुस्तक विमोचन गरे।

सोही अवसरमा युनियनका निवर्तमान अध्यक्ष पोखरेल, उपसचिव दीपक रेग्मीलगायत विभिन्न ४२ व्यक्तित्वलाई कदरपत्रसहित सम्मान गरिएको थियो।



प्रतिक्रिया दिनुहोस !