देशभर मनसुनको प्रभाव : विभिन्न प्रदेशमा मध्यमदेखि भारी वर्षाको सम्भावना
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । मनसुनको न्यूनचापीय रेखा सरदर स्थानभन्दा दक्षिणतर्फ अवस्थित भएकाले वर्षाको गतिविधि देखिएको महाशाखाले जानकारी दिएको हो ।
शुक्रबार बिहान कोशी, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा छिटपुट वर्षा भएको महाशाखाको वेबसाइटमा उल्लेख छ । दिउँसो देशभर साधारणतया बदली रहनेछ ।
लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानमा र तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
त्यस्तै, शुक्रबार राति पनि देशभर साधारणतया बदली रहने र कोशी, बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा हुने अनुमान गरिएको छ ।
बाँकी प्रदेशका थोरै स्थानमा समेत वर्षा हुने सम्भावना छ । साथै, कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका पहाडी क्षेत्रका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेको महाशाखाले चेतावनी दिएको छ । महाशाखाले नदी तथा खोला किनार र पहाडी भूभागमा बसोबास गर्ने नागरिकलाई सतर्क रहन आग्रह गरेको छ ।








