२० मंसिर २०८२, शनिबार

यस्तो छ एमाले विधान महाधिवेशनको कार्यसूची

प्रकाशित मिति :  5 September, 2025 7:37 am


ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)को दोस्रो विधान महाधिवेशन आजदेखि ललितपुरको गोदावरीस्थित सनराज ई हलमा सुरु हुँदैछ ।

बिहान ११ बजे पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशनको उद्घाटन गर्ने कार्यक्रम रहेको एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले जानकारी दिए ।

गौतमका अनुसार महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि र ३१५ जना आयोजकसहित २ हजार ३४१ जना सहभागी हुनेछन् । ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली हाम्रो गन्तव्य’ भन्ने नारासहित सम्पन्न हुने महाधिवेशनमा आजै हुने बन्दशत्रमार्फत विभिन्न प्रतिवेदन प्रस्तुत गरिनेछ ।

अध्यक्ष ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् भने उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले विधान संशोधन प्रस्ताव पेस गर्ने कार्यक्रम छ । त्यसैगरी महासचिव शंकर पोखरेलले संगठनात्मक प्रतिवेदन पेश गर्नेछन् ।

यस्तै, केन्द्रीय अनुशासन आयोगका अध्यक्ष केशव वडाल, लेखा आयोगका अध्यक्ष डा. पुष्प कँडेल, निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बा र केन्द्रीय सल्लाहकार परिषद्का अध्यक्ष अमृतकुमार बोहोराले पनि आ–आफ्ना प्रतिवेदन प्रस्तुत गर्ने गौतमले जानकारी दिनुभयो ।

भोलि भदौ २१ गतेदेखि ९ वटा समूहमा विभाजन गरी प्रतिवेदनमाथि समूहगत छलफल गरिनेछ । छलफलमा आएका निष्कर्षहरूलाई भदौ २२ गते प्रस्तुतिकरण गरी राजनीतिक प्रस्ताव पारित गर्ने र सोही दिन महाधिवेशन समापन गरिने कार्यक्रम रहेको छ ।



प्रतिक्रिया दिनुहोस !