१९ मंसिर २०८२, शुक्रबार

महाधिवेशन उद्घाटनको चहलपहल : गोदावरी सनराइज हलमा तयारी अन्तिम चरणमा

प्रकाशित मिति :  5 September, 2025 11:34 am


ललितपुर । नेकपा (एमाले) दोस्रो विधान महाधिवेशनको उद्घाटन स्थल सनराइज सभा हलमा अहिले चहलपहल सुरु भइसकेको छ ।

महाधिवेशनमा सहभागी प्रतिनिधि, पर्यवेक्षक, सञ्चारकर्मी र सर्वसाधारणको व्यवस्थापनका लागि स्वयंसेवकहरूले प्रवेश प्रक्रिया सञ्चालन गरिरहेका छन् ।

मुख्य सडकदेखि हल प्रवेशद्वारसम्म स्वयंसेवकहरूले सहभागीहरूलाई व्यवस्थित गर्दै छन् भने सवारीसाधनका लागि सडक छेउमा पार्किङको व्यवस्था गरिएको छ ।

हलभित्र प्रवेश गर्न कार्ड स्क्यानिङको प्रक्रिया सुरु भइसकेको छ, यद्यपि प्रतिनिधि र पर्यवेक्षकका लागि गेटभित्र प्रवेश प्रक्रिया अझै खुला भएको छैन। सञ्चारकर्मीका लागि हल बाहिर मिडिया सेन्टर राखिएको छ ।

हलभित्र स्थायी सदस्य, पोलिटव्युरो, केन्द्रीय सदस्य, आयोगका प्रमुख र प्रतिनिधिहरूका लागि प्रदेशअनुसार सिट व्यवस्थापन गरिएको छ। हाल सरसफाई, सिट व्यवस्थापन, डिजिटल उपकरण परीक्षण, सुरक्षा र प्राविधिक व्यवस्थापन धमाधम जारी छन्।

उप महासचिव विष्णु रिमाल र मञ्च व्यवस्थापन संयोजक पोलिटव्युरो सदस्य विनोद श्रेष्ठले हलभित्रको व्यवस्थापनको नेतृत्व गरिरहेका छन्।

मञ्चमा ठूलो डिजिटल बोर्ड अगाडि १८ पदाधिकारीका लागि कुर्ची राखिएको छ। दुवैतिर पार्टीको झण्डा र राष्ट्रिय झण्डा, बाँयातिर पुष्पलाल, मनमोहन अधिकारी र मदन भण्डारीको तस्बिर, दायाँतिर कार्ल मार्क्स, एङ्गेल्स र लेनिनको तस्बिर राखिएको छ।

मञ्चको शीर्ष भागमा ‘नेपाल कम्युनिस्ट पार्टी (एमाले) दोस्रो महाधिवेशन’ लेखिएको छ र त्यस माथि सगरमाथाको प्रतीक राखिएको छ। सगरमाथा माथि पार्टीको लोगो सूर्यभित्र हँसिया-हथौडा र नेपालको झण्डा राखिएको छ।

प्रत्यक्ष प्रशारणका लागि हल बाहिर मिडिया सेन्टरमा डिजिटल बोर्ड राखिएको छ। हलको दायाँ–बाँया झ्यालमा ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’ नारासहित दुई ठूला डिजिटल बोर्ड राखिएका छन्।

महाधिवेशन ‘निर्णायक राष्ट्रिय शक्ति निर्माण हाम्रो सङ्कल्प, समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय गन्तव्य’ मूल नारासहित सुरु हुने तयारीमा छ ।

दोस्रो विधान महाधिवेशनमा २ हजार २६ जना प्रतिनिधि सहभागी हुनेछन् भने आयोजकको हैसियतमा ३१५ जना थपिएर कुल २३ सय ४१ जनाको सहभागिता रहनेछ। स्वयंसेवक र सुरक्षा निकायसहित ३ हजार ५०० जनालाई खानाको व्यवस्था गरिएको छ।



प्रतिक्रिया दिनुहोस !