देशभर बदली, केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रकाशित मिति : 6 September, 2025 6:56 am
काठमाडौँ । हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा दक्षिणतिर अवस्थित रहेकाले आज देशभर मौसम सामान्यतया बदली हुने भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशसहित देशका पहाडी भू–भागका केही स्थानमा र बाँकी प्रदेशका तराई भू–भागका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना छ ।
आज राति पनि कोशी प्रदेशलगायत पहाडी भू–भागमा साधारणतया बदली र बाँकी भू–भागमा आंशिक बदली रहने अनुमान गरिएको छ ।
रातिको समयमा पनि देशका पहाडी क्षेत्रमा केही स्थानमा र तराईका थोरै स्थानमा मध्यम वर्षा हुने सम्भावना महाशाखाले जनाएको छ ।
महाशाखाले सतर्कता अपनाउन आग्रह गर्दै पहाडी भू–भागमा वर्षाका कारण पहिरो तथा तराईका केही क्षेत्रमा जलभराव हुने जोखिम भएकाले आवश्यक सतर्कता अपनाउन नागरिकलाई सुझाव दिएको छ ।








