एमाले महाधिवेशन : फरक मत वाचन रोकिँदा आन्तरिक लोकतन्त्रमाथि प्रश्न
ललितपुर । नेकपा (एमाले)को दोस्रो विधान महाधिवेशनमा आन्तरिक लोकतन्त्रको अभ्यास विवादमा परेको छ । स्थायी कमिटी सदस्य कर्ण थापालाई फरक मत वाचन गर्न दिइएनपछि महाधिवेशनमा ‘फरक विचारको अभिव्यक्ति’ रोकिएको आरोप उत्रिएको हो ।
महाधिवेशनको दोस्रो दिन थापा पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीको सदस्यता रोक्ने निर्णयप्रति असहमतिसहित फरक मत प्रस्तुत गर्न मञ्चअघि उभिएका थिए ।
नेतृत्वले फरक मत वाचन गर्ने कार्यसूची तय गरी ३२ पृष्ठ लामो प्रतिवेदन बाँड्ने तयारीसम्म गरेको थियो । तर अन्ततः अध्यक्ष केपी शर्मा ओलीले उनलाई रोकिदिएका थिए ।
प्रतिनिधिहरूका अनुसार ओलीले हलमै आफू र थापाबीच तीन घण्टा वान–टु–वान छलफल भइसकेको बताउँदै, “तपाईंले मलाई कन्भिन्स गर्न सक्नुभएन, जानुस्” भन्दै वाचन रोक लगाएका थिए । थापा करिब आधा घण्टा मञ्चमा उभिए पनि आफ्नो फरक मत प्रस्तुत गर्न पाएनन् ।
थापाको फरक प्रतिवेदनमा पूर्वराष्ट्रपति भण्डारीको सदस्यता नवीकरण, ७० वर्षे उमेर सीमा र दुई कार्यकालको प्रावधान हटाउने लगायतका विषय समेटिएका थिए ।
यसअघि सचिवालय बैठकमा पनि वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले भण्डारीको पक्षमा फरक मत राखेका थिए भने उपाध्यक्षद्वय सुरेन्द्र पाण्डे र युवराज ज्ञवालीले उनलाई समर्थन गरेका थिए ।
अध्यक्ष ओलीले भने भण्डारीको सदस्यता महाधिवेशनमा छलफल नहुने प्रष्ट पारेका छन् । तर फरक मत प्रस्तुत गर्ने अवसर नदिइनु एमालेभित्र विचारको स्वतन्त्रता र आन्तरिक लोकतन्त्र कत्तिको अभ्यास हुन्छ भन्ने बहसको विषय बनेको छ ।








