१९ मंसिर २०८२, शुक्रबार
सन्दर्भ : प्रदेश निजामती सेवा दिवस

निजामती सेवालाई प्रविधिमैत्री, जनउत्तरदायी र समयसापेक्ष बनाउन प्रयासरत छौँ-मुख्यमन्त्री आचार्य

प्रकाशित मिति :  7 September, 2025 9:49 am


दाङ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले निजामती सेवालाई प्रविधिमैत्री, जनउत्तरदायी र समयसापेक्ष बनाउन प्रदेश सरकार निरन्तर प्रयासरत रहेको बताएका छन् ।

प्रदेश निजामती सेवा दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री आचार्यले निजामती सेवाको गौरवलाई अझ उचाइमा पुर्याउनुपर्नेमा जोड दिएका हुन् ।

वि.सं. २०१३ भदौ २२ गते जारी भएको निजामती सेवा ऐन आज ६९ वर्ष पुगेको प्रसंग स्मरण गर्दै उनले राजनीतिक आन्दोलन, शासन प्रणालीका परिवर्तन र संरचनागत चुनौतीबीच पनि निजामती सेवा राज्यको मेरुदण्ड र जनसेवाको आधारस्तम्भ बनेको उल्लेख गरे ।

संघीयता कार्यान्वयनसँगै संघ, प्रदेश र स्थानीय तहमा निजामती सेवाको भूमिका अझ व्यापक भएको भन्दै मुख्यमन्त्री आचार्यले प्रत्यक्ष रूपमा सेवा प्रवाहमा समर्पित सम्पूर्ण निजामती कर्मचारीप्रति उच्च सम्मान प्रकट गरे ।

उनका अनुसार लुम्बिनी प्रदेश सरकारले कर्मचारी व्यवस्थापन र वृत्ति विकासलाई स्पष्ट र व्यवस्थित बनाउँदै सेवाप्रवाहलाई चुस्त, पारदर्शी र जवाफदेही बनाउन निरन्तर पहल गरिरहेको छ ।

शुभकामना सन्देशमा मुख्यमन्त्री आचार्यले सम्पूर्ण निजामती कर्मचारीलाई ज्ञान, सीप र इमानदारीसहित सकारात्मक सोचका साथ जनसेवामा समर्पित हुन आह्वान गर्दै उज्ज्वल भविष्यको शुभकामना व्यक्त गरे । लुम्बिनी प्रदेशमा निजामती सेवा दिवसको अवसरमा विभिन्न कार्यक्रमहरू आयोजना गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !