२० मंसिर २०८२, शनिबार

सरकारको काम प्रभावकारी भएमात्र पार्टी बलियो हुन्छ- महासचिव पोखरेल

प्रकाशित मिति :  7 September, 2025 2:11 pm


ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शङ्कर पोखरेलले सरकारले प्रभावकारी रुपमा काम गर्न सकेमात्र पार्टी बलियो बन्ने बताएका छन् ।

ललितपुरको गोदावरीमा शुक्रबारदेखि जारी दोस्रो विधान महाधिवेशनको बन्दसत्रमा समूहगत छलफलपछि आएका सुझावको जवाफ दिने क्रममा उनले यस्तो धारणा राखेका हुन् ।

महासचिव पोखरेलले वडास्तरदेखि नै कार्यकर्ता र जनतालाई काममा जोड्नुपर्नेमा जोड दिँदै भने, “वडाबाटै काम सुरू भयो भने परिणाम प्रत्यक्ष देखिन्छ, त्यसले पार्टीप्रतिको जनविश्वास बढाउँछ।”

उनले पार्टीभित्र नेताको व्यवस्थापन सम्बन्धित कमिटीले गर्नुपर्नेमा जोड दिँदै चुनावमा पराजित भएकाहरूलाई पनि सोही तहले व्यवस्थित गर्नुपर्ने बताए । त्यस्तै उनले युवा र जनसङ्गठनलाई वर्ग र समुदाय केन्द्रित बनाउनुपर्ने आवश्यकता औंल्याए ।

पोखरेलले हाल प्रदेश र जिल्ला कमिटीमा ४० वर्षमुनिका युवाको प्रतिनिधित्व कमजोर भएको उल्लेख गर्दै भने, “४० वर्षमुनिका युवालाई पार्टी काममा जोड्ने कुरा भनिए पनि त्यसलाई व्यवहारमा उतार्न सकिएको छैन ।”

त्यस्तै उनले महिलाको पार्टी सदस्यता ३३ प्रतिशत पुर्‍याउने निर्णय भए पनि हाल सदस्यता २६ प्रतिशतमै सीमित रहेको जानकारी दिए । उनका अनुसार पार्टी सदस्य विस्तार नगरी सक्षम नेतृत्व निर्माण सम्भव छैन ।

सामाजिक अपेक्षाअनुसार नेताको जीवनशैली सरल हुनुपर्नेमा जोड दिँदै महासचिव पोखरेलले २०४३ सालको स्ववियु निर्वाचनताका एउटा मोटरसाइकल पाउँदा खुसी भएको प्रसङ्ग स्मरण गरे । “आज नेताहरुको तडकभडक जीवनशैलीप्रति जनताले निगरानी गरिरहेका छन्,” उनले चेतावनी स्वरूप भने ।

महासचिव पोखरेलले समूहगत छलफलका लिखित प्रस्तावलाई साङ्गठनिक प्रतिवेदनमा समेटिने जानकारी दिँदै राजनीतिक र साङ्गठनिक प्रतिवेदन सैद्धान्तिक भएकाले केही हेरफेर हुनसक्ने बताए । उनले विधान संशोधनका प्रस्ताव महाधिवेशनबाट पारित गरिने स्पष्ट पारे । यसैबीच, अध्यक्ष केपी शर्मा ओलीले पनि प्रतिवेदन पारित गर्ने क्रममा छुटेका विषयलाई पछि समेटिने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस !