सामाजिक सञ्जालले नेपालको कानून मान्नैपर्छ-प्रधानमन्त्री ओली
ललितपुर । प्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपालमा व्यवसाय गर्न चाहने सामाजिक सञ्जालले नेपालको कानूनअनुसार दर्ता भई कर तिर्नुपर्ने बताएका छन् ।
एमालेको दोस्रो विधान महाधिवेशन अन्तर्गत आइतबार गोदावरीमा बसेको बन्दसत्रलाई सम्बोधन गर्दै उनले अभिव्यक्ति स्वतन्त्रता संकुचन गर्ने उद्देश्य नभई सामाजिक सञ्जाललाई कानूनी दायरामा ल्याउन खोजिएको स्पष्ट पारे ।
प्रधानमन्त्री ओलीले भने, “केही बुद्धिजीवीले सरकारले जनताको म्यासेज सुन्दैन, म्यासेन्जर बन्द गर्छ रे भनेर प्रचार गरेका छन् । त्यस्ता ढाँट बुद्धिजीवी देख्दा दया लाग्छ । सामाजिक सञ्जाल नेपालमा व्यापार गर्न आउँछन् तर नेपालको कानून मान्न चाहँदैनन् ? करको दायरामा आउनु नपर्ने ? यो नेपाललाई हेप्ने कुरा हो।”
उनले राष्ट्रिय स्वाभिमान र स्वतन्त्रता विषयमा सम्झौता गर्न नसकिने उल्लेख गर्दै भने, “मलाई हेपेको सहन्छु, तर राष्ट्रलाई हेपेको सहन्न । सामाजिक सञ्जाललाई कानूनअनुसार चल भन्नाले स्वतन्त्रता हनन् हुँदैन, बरु स्वाभिमानको रक्षा हुन्छ ।”
सरकारले दर्ता नभएका सामाजिक सञ्जाल बन्द गर्ने निर्णय गरेको विषयमा उत्पन्न भइरहेको विभिन्न प्रतिक्रियाबारे ओलीले आफ्नो अडान प्रष्ट पार्दै भने, “सरकार जनताको पक्षमा छ, राष्ट्रको स्वाभिमानमा सम्झौता गर्दैन ।”








