लुम्बिनी प्रदेशमा उत्सवका रूपमा मनाइयो निजामती सेवा दिवस
दाङ । लुम्बिनी प्रदेशमा यस वर्षको निजामती सेवा दिवस उत्सवका रूपमा मनाइएको छ । भदौ २०, २१ र २२ गतेसम्म तीन दिन विविध कार्यक्रमसहित दिवस मनाइएको हो । अन्तिम दिन आइतबार साँझी, प्रभातफेरी र मूल समारोह आयोजना गरिएको थियो ।
मुख्य समारोह प्रमुख सचिव बाबुराम अधिकारीको अध्यक्षता तथा प्रदेशसभाका सभामुख तुलाराम घर्तिमगरको प्रमुख आतिथ्यतामा सम्पन्न भयो ।
कार्यक्रममा सम्बोधन गर्दै सभामुख घर्तिमगरले सरकारको मेरुदण्ड निजामती सेवा भएको उल्लेख गर्दै जनप्रतिनिधि र कर्मचारीबीचको प्रभावकारी समन्वयले मात्र विकास र समृद्धिको लक्ष्य हासिल गर्न सकिने धारणा व्यक्त गरे । उनका अनुसार राजनीतिक नेतृत्वले देखेका सपना र नीति पूरा गर्ने दृढता निजामती सेवाले लिनुपर्छ ।
कार्यक्रममा वन तथा वातावरण मन्त्री देवकरणप्रसाद कलवार, ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री सीता शर्मा चौधरी र युवा तथा खेलकुद मन्त्री सन्तोषकुमार पाण्डेले पनि सम्बोधन गरे ।
उनीहरुले सहमति र सहकार्यबाट मात्र समृद्धिको मार्ग प्रशस्त हुनेमा जोड दिए । प्रमुख सचिव बाबुराम अधिकारीले निजामती सेवालाई प्रभावकारी, सिर्जनशील र व्यावसायिक बनाउन सकिए सबैको जीत हुने बताए ।
यसै अवसरमा नेपाल निजामती कर्मचारी संगठन लुम्बिनीका अध्यक्ष नेत्रप्रसाद आचार्यले सार्वजनिक प्रशासनलाई अझै सुधार गर्न आवश्यक रहेको उल्लेख गर्दै कानुनमा एकरूपता, तीन तहका कर्मचारीबीच भावनात्मक एकता र सुशासनलाई मजबुत बनाउनुपर्नेमा जोड दिए ।
त्यस्तै, नेपाल निजामती कर्मचारी यूनियन लुम्बिनीका अध्यक्ष बामदेव शर्माले संघीय निजामती सेवा ऐन अभावमा कर्मचारीको वृत्ति विकासमा अनिश्चितता देखिएको भन्दै तत्काल सो ऐन जारी गर्न सरकारसँग माग गरे ।
दिवसको अवसरमा उत्कृष्ट कार्य सम्पादन गर्ने नौ जना कर्मचारीलाई सम्मान गर्ने नामावली सार्वजनिक गरिएको छ । प्रमुख सचिव तथा पुरस्कार सिफारिस समितिका अध्यक्ष बाबुराम अधिकारीले नामावली सार्वजनिक गरे ।
उत्कृष्ट प्रदेश निजामती सेवा पुरस्कार कृषि, भूमि व्यवस्था तथा सहकारी मन्त्रालयका सचिव यामनारायण देवकोटा र आर्थिक मामिला तथा योजना मन्त्रालयका वरिष्ठ लेखा अधिकृत रविन्द्र अर्याललाई प्रदान गरिने भएको छ ।
त्यस्तै, उत्कृष्ट निजामती सेवा पुरस्कार वन तथा वातावरण मन्त्रालयका वरिष्ठ वन अधिकृत टोलकराज चापागाईं, भौतिक पूर्वाधार विकास मन्त्रालयका वरिष्ठ इञ्जिनियर अरुण गुप्ता, स्वास्थ्य मन्त्रालयका कोल्ड चेन निरीक्षक मनोजकुमार श्रेष्ठ र मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका अधिकृत शिवप्रसाद न्यौपानेलाई प्रदान गरिने भएको छ ।
यस्तै, कार्यसम्पादनमा उत्कृष्ट ठहरिएका सामाजिक विकास मन्त्रालयका वरिष्ठ शिक्षा अधिकृत वेगम केसी, उद्योग, पर्यटन तथा यातायात मन्त्रालयका पुरातत्व अधिकृत कृष्णचन्द्र गिरी र स्वास्थ्य मन्त्रालयकी वरिष्ठ पब्लिक हेल्थ नर्स सीता कुवरलाई सम्मान गरिने भएको हो । यी पुरस्कार र सम्मानहरू संविधान दिवसका दिन प्रदान गरिनेछ ।
मूल समारोहमा विभिन्न समुदायका सांस्कृतिक झाँकी प्रस्तुत गरिनुका साथै कर्मचारीहरूले आफ्ना सिर्जनात्मक प्रस्तुति पनि देखाएका थिए ।
साथै, प्रतियोगितामा उत्कृष्ट हुने कर्मचारीलाई पुरस्कार समेत वितरण गरिएको थियो । कार्यक्रम मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका सचिव कविन्द्र नेपालको स्वागत मन्तव्यबाट सुरु भएको थियो भने सहजीकरण कानून सचिव लिलाधर सुवेदीले गरेका थिए ।








