२० मंसिर २०८२, शनिबार

संविधान संशोधन र निर्वाचन प्रणाली सुधार गरिने-प्रधानमन्त्री ओली

प्रकाशित मिति :  7 September, 2025 8:25 pm


ललितपुर । नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले दुई दलीय सहमतिअनुसार संविधान संशोधन र निर्वाचन प्रणालीमा सुधार गरिने स्पष्ट गरेका छन् ।

ललितपुरको गोदावरीस्थित सनराइज सम्मेलन केन्द्रमा शुक्रबारदेखि जारी एमालेको दोस्रो विधान महाधिवेशनको अन्तिम दिन आइतबार उनले राजनीतिक प्रतिवेदनमाथि भएको समूहगत छलफलबाट उठेका प्रश्न तथा जिज्ञासाको जवाफ दिँदै यस्तो धारणा राखेका हुन् ।

प्रधानमन्त्री ओलीका अनुसार वर्तमान सरकार सात बुँदे सहमतिको जगमा बनेको भएकाले ती बुँदालाई क्रमशः कार्यान्वयन गर्दै लैजानेछ ।

‘‘सुशासनको प्रत्याभूति, निर्वाचन प्रणाली सुधार गर्दै अघि बढ्नुपर्ने छ। अनेक बहाना निकाल्ने होइन, निष्कर्षमा पुग्ने गरी काम हुन्छ। समानताको आधारमा राष्ट्रिय एकता, सुशासन र विकासलाई अघि बढाइन्छ,’ उनले भने।

प्रधानमन्त्री ओलीले राजनीतिक प्रस्तावमै धेरै विषय विस्तृत रूपमा समेटिएको भन्दै सुझावलाई परिपक्वतापूर्वक कार्यान्वयन गरिने आश्वासन दिए। उनका अनुसार संविधान निकै मिहिनेतका साथ जारी गरिएको हो र ३१ वटा मौलिक हकलाई सुनिश्चित गर्न पार्टीले अग्रसरता लिएको थियो।
‘जनताको बहुदलीय जनवादका आधारमा संविधान बनेको हो। बाटो निर्माण गर्दा विरोध हुन्छ, तर बनेपछि सबैले त्यही बाटोमा हिँड्छन्। अहिले हामी देश, जनता र विकासको बाटोमा अघि बढिरहेका छौँ,’ उनले जोड दिए।

समूहगत छलफलपछि प्राप्त प्रश्न एवं सुझावबारे धारणा राख्दै उनले एमाले अब जवाफदेहिताको केन्द्र बनेको र प्रतिस्पर्धाको राजनीतिमा स्थापित भएको बताए।

वाम एकताको विषयमा टिप्पणी गर्दै ओलीले भने, ‘अहिले वाम एकताको नारा लगाइरहेका छन्। तर हिजो हामीलाई सिध्याउन हिँडेका यही होइनन्? पार्टी खिइँदै गएर दुई–चार जनामा सीमित भएकाहरू आज फेरि एकताको नारा लगाइरहेका छन्। हामीले त्यस्तो पार्टीमा फर्मालिन हाल्न किन जानु?’



प्रतिक्रिया दिनुहोस !